राष्ट्रिय योजना आयोगको प्रारम्भिक सर्वेक्षण अनुसार भोटेकोशी नदीमा आएको बाढीबाट चार वटा जिल्लामा ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको छ। यस बाढीबाट घरपरिवारतर्फ ६९ अर्ब५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ को नोक्सानी भएको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ वटा स्थानीय तहमा रहेका ७ हजार ३१६घरपरिवार तथा प्रतिष्ठान प्रभावित भएका छन्। जसमा ६ हजार ८१७ घरपरिवार र ४९९ व्यवसाय/प्रतिष्ठान रहेका छन्। जिल्लागत आधारमा सबैभन्दा धेरै क्षति नुवाकोटमा (४,१६४) भएको छ भने रसुवामा १,९७७, धादिङमा १,०५२ र गोरखामा १२३ घरपरिवार तथा प्रतिष्ठान प्रभावित भएका छन्।
यस विपद्बाट चार जिल्लामा गरी कुल ३२ हजार ८७२ जना नागरिक प्रत्यक्ष प्रभावित भएका छन्। जसमा १६ हजार ७१४ पुरुष, १६ हजार ८० महिला र ७८ जना अन्य वा पहिचान नखुलेका व्यक्तिहरू रहेका छन्। जिल्लाअनुसार नुवाकोटमा १७,९५४, रसुवामा ९,६७६, धादिङमा ४,५८४ र गोरखामा ६५८ जना प्रभावित भएका छन्।
बाढीले ३ हजार ६७ घरधनीका ४ हजार १५१ वटा भवन संरचना मा क्षति पुऱ्याएको छ। क्षतिग्रस्त संरचनाहरूमा २,७९२ घर, २८८ गोठ/धन्सार/मतान, ६५१ ट्रस र २६३ टहरा रहेका छन्। कुल क्षतिग्रस्त संरचनामध्ये ७२.०१ प्रतिशत (२,९८९ वटा) पूर्ण रूपमा नष्ट भएका छन्।
सर्वेक्षण अनुसार कुल क्षति पुगेका संरचनामध्ये ७६.९५ प्रतिशत (३,१९४ वटा) भवनहरू पुनः प्रयोग गर्नै नसकिने अवस्थामा पुगेका छन्। त्यस्तै, ३३२ वटा संरचना पूर्ण मर्मतपछि र ३२० वटा सामान्य मर्मतपछि प्रयोगमा ल्याउन सकिने देखिएको छ।



