भारतद्वारा बाल यौन दुर्व्यवहार प्रवर्द्धन गर्ने विज्ञापनहरू हटाउन मेटालाई निर्देशन

 भारत सरकारले सामाजिक सञ्जाल कम्पनी मेटालाई आफ्नो प्लेटफर्म इन्स्टाग्रामबाट बाल यौन दुर्व्यवहार र शोषण प्रवर्द्धन गर्ने सबै विज्ञापन तथा सामग्रीहरू तत्काल हटाउन कडा निर्देशन दिएको छ।

बीबीसी आईको एक अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक भएपछि भारत सरकारले यो कदम चालेको हो। उक्त प्रतिवेदनमा इन्स्टाग्रामले भारतमा बाल यौन दुर्व्यवहारलाई प्रवर्द्धन गर्ने ‘पेड विज्ञापनहरू’ सञ्चालन गरिरहेको र ती विज्ञापनहरूले प्रयोगकर्ताहरूलाई टेलिग्राम च्यानलहरूसम्म पुर्‍याउने गरेको खुलासा गरिएको थियो, जहाँ त्यस्ता अवैध सामग्रीहरू बिक्री भइरहेका थिए।

यस विषयलाई गम्भीरतापूर्वक लिँदै भारतको इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले मेटालाई एक कडा सूचना जारी गरेको छ। मन्त्रालयले बाल यौन दुर्व्यवहार सम्बन्धी सामग्रीहरूलाई बढावा दिने विज्ञापनहरू तत्काल बन्द गर्न र यस विषयमा गरिएको कारबाहीको विस्तृत विवरण ७दिनभित्र बुझाउन आदेश दिएको छ।

भारत सरकारले विशेष गरी मेटाको ‘एल्गोरिदम’ ले यस्ता संवेदनशील र आपत्तिजनक सामग्रीहरूलाई झन् बढी फैलाउन  मद्दत गरेको भन्दै गम्भीर चासो व्यक्त गरेको छ। सरकारले मेटासँग यस्ता विज्ञापनहरू कसरी स्वीकृत भए र भविष्यमा यस्ता घटना दोहोरिन नदिन के-कस्ता सुरक्षामूलक उपायहरू अपनाइँदैछ भनी जवाफ मागेको छ।

यसैबीच, मेटाका प्रवक्ताले कम्पनीको बाल यौन दुर्व्यवहार सम्बन्धी सामग्रीप्रति शून्य सहनशीलताको नीति रहेको दाबी गरेका छन्। उनले आफूहरूले प्रविधिको प्रयोग गरेर त्यस्ता सामग्रीहरू हटाउने गरे पनि अपराधीहरूले पहिचान लुकाएर प्रणालीलाई छल्ने प्रयास गरिरहने हुनाले यो एक निरन्तरको लडाइँ भएको बताएका छन्। बीबीसीको रिपोर्टपछि केही विज्ञापनहरू हटाइएको र सम्बन्धित एकाउन्टहरू निलम्बन गरिएको पनि मेटाले जनाएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ