योगमाया राष्ट्रिय सम्मान समर्पणसँगै कृति लोकार्पण सम्पन्न

काठमाडौँ — योगमाया स्मृति दिवसका अवसरमा नेपाल स्रष्टा समाजले यस वर्षको दुईवटा प्रतिष्ठित राष्ट्रिय सम्मान अर्पण गरेको छ। राजधानीमा आयोजित एक विशेष समारोहका बीच अग्रज कथाकार माया ठकुरीलाई ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ र वरिष्ठ समालोचक निनु चापागाईंलाई ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ समर्पण गरिएको हो।

नेपाल स्रष्टा समाज र न्यौपाने बन्धु समाज नेपालको सहकार्यमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले स्रष्टाद्वयलाई सम्मान अर्पण गर्नुभएको थियो। सम्मान प्रदान गर्दै प्रमुख अतिथि घिमिरेले निरङ्कुशता र सामाजिक विकृतिविरुद्ध विद्रोह गर्ने योगमाया एक विलक्षण व्यक्तित्व भएको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, “आज सही र उचित पात्रको चयन गरेर नेपाल स्रष्टा समाज आफैँ सम्मानित भएको छ।” सम्मानित दुवै स्रष्टालाई प्रमाणपत्रका साथ नगद राशी जनही ५० हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको छ।

पुरस्कार ग्रहण गरेपछि आफ्नो मन्तव्य राख्दै वरिष्ठ कथाकार माया ठकुरीले यो सम्मान पाउँदा आफू अत्यन्तै गौरवान्वित भएको बताउनुभयो। सो अवसरमा उहाँले आफ्ना बाल्यकालका पुराना दिनहरू स्मरण गर्दै नोस्टाल्जिक समेत बन्नुभएको थियो। कार्यक्रममा बोल्दै इल्या भट्टराईले माया ठकुरी विगतमा रेडियो खर्साङ र रेडियो नेपालकी चर्चित गायिका समेत रहेको र उहाँका साहित्यिक कृतिहरू नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा समावेश गरिएको जानकारी दिनुभयो।

अर्का सम्मानित व्यक्तित्व, वरिष्ठ समालोचक निनु चापागाईंले योगमायाको क्रान्तिकारी चेतको चर्चा गर्दै उहाँमाथि अझै थप अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो। चापागाईंले भन्नुभयो, “योगमाया एक विद्रोही र क्रान्तिकारी कवि हुनुहुन्थ्यो, जसले तत्कालीन समयमै नेपालको कानुन र राजनीतिलाई चुनौती दिने आँट गरिन्।” उहाँको साहित्यिक तथा राजनीतिक यात्रा र राल्फा आन्दोलनमा रहेको योगदानको पनि कार्यक्रममा चर्चा गरिएको थियो।

सोही अवसरमा योगमाया न्यौपानेका बारेमा लेखिएका गहन लेख–रचनाहरूको सँगालो ‘योगमायाइतिहासदेखि वर्तमानसम्म’ नामक कृतिको लोकार्पण गरिएको थियो। यस कृतिको सम्पादन प्रदीप सापकोटाले गर्नुभएको हो। लोकार्पित कृतिले योगमायाको ऐतिहासिक योगदानलाई जनमानसमा व्यापक रूपमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा गायिका लोचन भट्टराईको स्वर तथा सङ्गीतमा तयार पारिएको योगमायाका वाणीहरूमा आधारित एक गीति भिडियो समेत प्रस्तुत गरिएको थियो। गायिका भट्टराईले योगमायाका विचार र वाणीहरू आजको आधुनिक समाजका लागि पनि उत्तिकै सान्दर्भिक र मार्गदर्शक रहेको धारणा राख्नुभयो।

पुरस्कारका संस्थापक पवन आलोक र राजेश न्यौपानेले योगमायाको योगदानलाई राष्ट्रिय रूपमा स्थापित गर्न यो अभियान निरन्तर चलिरहने र यसले समाज रूपान्तरणमा ऊर्जा दिने विश्वास दिलाउनुभयो। न्यौपाने बन्धु समाज नेपालका अध्यक्ष बलराम न्यौपानेले योगमायालाई राष्ट्रिय विभूति घोषणा गराउन संस्था क्रियाशील रहेको जानकारी दिनुभयो।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा डा. लक्ष्मणप्रसाद गौतम, विधान आचार्य, रमा शर्मा लगायत विभिन्न प्रदेशका साहित्यिक प्रतिनिधिहरू तथा स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो। समाजले ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ वि.सं. २०६५ देखि र ‘अभियन्ता राष्ट्रिय सम्मान’ वि.सं. २०७५ देखि निरन्तर प्रदान गर्दै आएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ