फ्रान्समा विद्यार्थी प्रदर्शनका क्रममा कयौँ किशोर-किशोरीहरू गम्भीर घाइते भएपछि त्यहाँको प्रहरीको दमन र सुरक्षा रणनीतिको व्यापक आलोचना भइरहेको छ। विद्यालयहरूमा शिक्षकको अभाव र जीर्ण पूर्वाधारको सुधार तथा शिक्षा क्षेत्रमा बजेट वृद्धिको माग राख्दै विद्यार्थीहरूले विगत केही हप्तादेखि प्रदर्शन र उच्च विद्यालयहरू बन्द गराउँदै आएका छन्।
प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले प्रयोग गरेका रबरका गोली, अश्रुग्यास र ग्रिनेट जस्ता हतियारका कारण कयौँ विद्यार्थीहरूले आँखाको ज्योति गुमाउने, बङ्गारा भाँचिने र हातै गुमाउनेसम्मका गम्भीर चोटपटक भोगेका छन्। चौध वर्षका एक किशोर Eden को मुखमा नजिकैबाट अश्रुग्यासको क्यानिस्टर प्रहार गर्दा उनी सख्त घाइते भएका छन् भने अर्का १५ वर्षका विद्यार्थीले प्रहरीले फालेको ग्रिनेट विष्फोट हुँदा हात गुमाउनुपरेको छ।
मानवाधिकार संगठनहरू र कानुन व्यवसायीहरूले प्रहरीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि गैर-घातक भनिएका तर युद्धस्तरका घातक हतियार र अत्यधिक बल प्रयोग गरेको आरोप लगाएका छन्। प्रहरी आन्तरिक जाँच निकाय र गृहमन्त्रालयले सुरक्षाकर्मीमाथि लागेका दर्जानौँ हिंसात्मक घटनाहरूको अनुसन्धान सुरु गरेको जनाएका छन्।
अर्कोतर्फ, फ्रान्सेली अधिकारीहरू र प्रहरी युनियनहरूले प्रदर्शनको क्रममा अराजकता बढेको र सयौँ प्रहरी अधिकारीहरू पनि घाइते भएको दाबी गरेका छन्। हिंसात्मक प्रदर्शनकारीहरूले विद्यालयमा आगजनी र तोडफोड गरेकाले परिस्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको प्रहरीको भनाइ छ।



