चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा: राष्ट्रिय गोष्ठीमा शीर्ष नेताहरूको साझा उपस्थिति

काठमाडौँ, १४ असार (२०८३) । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित एक विशेष समारोहमा नेपालका चार कम्युनिस्ट पूर्वप्रधानमन्त्रीहरू एउटै मञ्चमा देखिएका छन्। मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय विचार गोष्ठीमा यी शीर्ष नेताहरू एकसाथ सहभागी भएका हुन्।

समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा उपस्थित भएका हुन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रममा लामो समयपछि देशका प्रभावशाली कम्युनिस्ट नेताहरू एकै ठाउँमा जुटेका हुन्।

पछिल्लो समय फरक-फरक राजनीतिक ध्रुव, सत्ता र प्रतिपक्ष तथा फरक गठबन्धनमा रहेका यी प्रभावशाली नेताहरूको सामूहिक उपस्थितिलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण मानिएको छ। कार्यक्रममा मदन भण्डारीको राजनीतिक विचार, बहुदलीय जनवाद र नेपालको कम्युनिस्ट आन्दोलनमा उनको योगदानबारे चर्चा गरिएको छ।

सत्ता राजनीतिमा चरम मतभेद र टुटफुट बेहोरेका शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उभिएर संवाद गर्नुलाई कार्यकर्ता र शुभेच्छुकहरूले सकारात्मक रूपमा लिएका छन्। शीर्ष नेताहरूले राख्ने धारणाले भविष्यको राजनीतिक दिशा र कम्युनिस्ट एकताको सम्भावनाबारे समेत नयाँ बहस छेड्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ