काठमाडौँ, ३० जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा शुक्रबार भएको भीषण बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन नेपाल प्रहरीले एक उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले शनिबार नेपाल प्रहरी प्रदेश कार्यालय (पनौती) का प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो।
समितिको सदस्यहरूमा जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्ट, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका डीएसपी गंगा सारु, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश खरेल र इलाका प्रहरी कार्यालय देवीटारका प्रहरी हबल्दार बासुदेव खड्का रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी वरिष्ठ नायव निरीक्षक टंक शिवाकोटीलाई समितिको सदस्य सचिव तोकिएको छ। उक्त समितिलाई घटनाको वास्तविक अवस्था, प्राविधिक वा मानवीय त्रुटि र जिम्मेवार पक्षको पहिचान गरी आगामी ७ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।
शुक्रबार दिउँसो बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको यात्रुवाहक बस बीपी राजमार्गअन्तर्गत बुच्चाकोटको सेल्फीडाँडानजिकै अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो। उक्त दुखद दुर्घटनामा परी ८ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो भने १६ जना गम्भीर घाइते भएका थिए। घाइतेहरूको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा मृत्यु भएका आठै जनाको सनाखत भइसकेको छ। मृत्यु हुनेहरूमा रोशी गाउँपालिकाका मेघबहादुर तामाङ, राजु तामाङ, इन्द्रबहादुर तामाङ, फूलमाया तामाङ, माया तामाङ, प्यारीमाया तामाङ, सिन्धुलीका सुमी तामाङ र भकुण्डेबेँसीस्थित त्रिनेत्र दल गणमा कार्यरत नेपाली सेनाका अमलदार बमबहादुर भण्डारी रहेका छन्। तीव्र गति, विपरीत दिशाबाट आएको सवारी साधनलाई साइड दिने क्रममा वा स्टेरिङ फेल (टायर पड्किएको आशंका) मध्ये के कारणले बस दुर्घटना भयो भन्ने कुरा समितिको विस्तृत अध्ययनपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।


