(एजेन्सी) । अमेरिका र इरानबिच जारी सैन्य द्वन्द्व अन्त्यका लागि सम्झौता भएमा विश्वकै सबैभन्दा महत्त्वपूर्ण व्यापारिक जलमार्ग मानिने ‘स्ट्रेट अफ हर्मोज’ (हर्मोज जलडमरू मध्य) पुनः सञ्चालनमा ल्याउन इरान तयार भएको छ। इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले सरकारी टेलिभिजनमार्फत अमेरिका र इरानबिच युद्ध रोक्ने विषयमा एउटा प्रारम्भिक समझदारीको खाका तयार भएको जानकारी दिँदै सम्झौता परिपक्व भए हर्मोज जलमार्ग तत्काल खुला गरिने स्पष्ट पार्नुभएको हो।
प्रस्तावित सम्झौताअनुसार इरानमाथि अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी हटाइनेछ भने व्यावसायिक जहाजहरूका लागि यो रणनीतिक जलमार्ग बिनाकुनै शुल्क खुला गरिनेछ। पाकिस्तान र कतारको मध्यस्थतामा अघि बढाइएको यो शान्ति प्रयासलाई प्रारम्भिक रूपमा ‘इस्लामाबाद सम्झौता’ को नाम दिइएको छ। यस समझदारीले दुवै देशबिच तत्कालका लागि ६० दिनको युद्धविराम (टुरुस) कायम गर्ने र सोही अवधिभित्र इरानको विवादित परमाणु कार्यक्रम, क्षेप्यास्त्र उत्पादन र क्षेत्रीय लडाकु समूहहरूका विषयमा थप स्थायी वार्ता अगाडि बढाउने खाका तयार पारेको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट संक्षिप्त प्रतिक्रिया दिँदै इरानसँग ऐतिहासिक युद्ध अन्त्यको सम्झौता निकै नजिक पुगेको र अन्तिम दस्तावेजमा हस्ताक्षर हुन मात्र बाँकी रहेको दाबी गर्नुभएको थियो। राष्ट्रपति ट्रम्पले सम्झौताको सबैभन्दा बलियो पक्ष इरानले कहिल्यै पनि परमाणु हतियार नबनाउने प्रतिबद्धता जनाउनु रहेको उल्लेख गर्नुभएको छ। यद्यपि, इरानी विदेश मन्त्रालयले भने अमेरिकी राष्ट्रपतिले दाबी गरेजस्तो सबै विषयमा अन्तिम निर्णय भइनसकेको र इरानका सर्वोच्च निकायहरूमा यसबारे अझै छलफल जारी रहेको भन्दै केही सतर्कता अपनाएको छ।
गत फेब्रुअरी महिनामा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि सुरु भएको यो युद्धका कारण इरानले हर्मोज जलमार्ग पूर्ण रूपमा ठप्प पारेको थियो, जसले गर्दा विश्व बजारमा इन्धन र ऊर्जाको चरम संकट उत्पन्न भएको छ। विश्वको कुल पेट्रोलियम पदार्थको ठुलो हिस्सा यही जलमार्ग हुँदै ओसारपसार हुने भएकाले यो सम्झौताले विश्व अर्थतन्त्र र ऊर्जा बजारलाई ठुलो राहत दिने अपेक्षा गरिएको छ। वार्तामा इजरायल प्रत्यक्ष सहभागी नभए पनि यो समझदारीले लेबनानसहितका क्षेत्रमा भइरहेको हिंसा रोक्न समेत सहयोग पुग्ने मध्यस्थकर्ताहरूले बताएका छन्।


