कांग्रेस आधिकारिकता विवाद: प्रधानन्यायाधीश शर्मासहितको इजलासमा पुनरवलोकन निवेदन

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दालाई पुनरवलोकन गर्न दायर भएको निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। उक्त निवेदनमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीश नित्यानन्द पाण्डेय र न्यायाधीश श्रीकान्त पौडेल सम्मिलित तीन सदस्यीय पूर्ण इजलास गठन गरिएको छ।

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेसको आधिकारिकता दिने सर्वोच्च अदालतको यसअघिको आदेशविरुद्ध पूर्वसभापति शेरबहादुर देउवाले गत साउन ७ गते वारेसमार्फत पुनरवलोकन निवेदन दर्ता गराएका थिए। देउवा र नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगका साथै विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएका छन्।

यसअघि न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्ने फैसला सुनाएको थियो। निर्वाचन आयोगले उक्त विशेष महाधिवेशनलाई दिएको मान्यता सही भएको ठहर सर्वोच्चले गरेपछि देउवा पक्ष पुनरवलोकनका लागि पुनः सर्वोच्च पुगेको हो।

प्रधानन्यायाधीश शर्मासहितको तीन सदस्यीय इजलासले उक्त मुद्दालाई पुनः हेर्न (पुनरवलोकन गर्न) अनुमति दिने वा नदिने भन्नेबारे निर्णय गर्नेछ। अदालतले पुनरवलोकनको अनुमति (निस्सा) दिएमा मात्र यस मुद्दामा नयाँ सिरेबाट सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ