इराकलाई पाखा लगाउँदै नकआउट चरणमा फ्रान्सको सानदार इन्ट्री

जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा इराकलाई ३–० ले पराजित गर्दै फ्रान्स प्रतियोगिताको नकआउट चरण (राउन्ड अफ ३२) मा प्रवेश गरेको छ। फिलाडेल्फिया स्टेडियममा भएको उक्त खेलको पहिलो हाफमा १–० को अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा थप दुई गोल गरेको थियो।

खेलको १४ औं मिनेटमा स्टार स्ट्राइकर केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको ४० मिनेटपछि मैदानमा भारी वर्षा र मेघगर्जन भएपछि खेल केही समय रोकिएको थियो, जसका कारण दोस्रो हाफको खेल सुरु हुन १ घण्टाभन्दा बढी समय लागेको थियो।

दोस्रो हाफमा फ्रान्सले आफ्नो लयलाई कायमै राख्यो। खेलको ५४ औं मिनेटमा इराकका गोलकिपरले डिफेन्डरलाई पास दिन खोजेको बललाई ओस्मान डेम्बेलेको सहयोगमा एम्बाप्पेले गोलमा परिणत गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि ६६ औं मिनेटमा ओस्मान डेम्बेलेले व्यक्तिगत पहिलो गोल गरेपछि फ्रान्सले ३–० को सहज जित सुनिश्चित गर्‍यो।

यस खेलसँगै फ्रान्सेली टोलीका कप्तान केलियन एम्बाप्पेले आफ्नो खेल जीवनमा एउटा ऐतिहासिक कोसेढुङ्गा पार गरेका छन्। फ्रान्सको राष्ट्रिय टोली (ले ब्लुज) बाट यो उनको १०० औं अन्तर्राष्ट्रिय खेल (क्याप) हो। सन् २०१७ मार्च २५ देखि राष्ट्रिय टोलीबाट यात्रा सुरु गरेका एम्बाप्पे फ्रान्सका लागि १०० अन्तर्राष्ट्रिय खेल खेल्ने इतिहासकै १० औं खेलाडी बनेका छन्।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ