काठमाडौँ — लामो समयदेखि रिक्त रहेका विभिन्न संवैधानिक निकायका पदपूर्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (शुक्रबार) साँझ ५:०० बजे बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा विभिन्न संवैधानिक निकायमा खाली रहेका पदहरूमा नियुक्तिका लागि सिफारिस गर्ने मुख्य एजेन्डा रहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, र राष्ट्रिय मानवअधिकार आयोग लगायतका निकायहरूमा फर्च्यौट हुन बाँकी रहेका नियुक्तिहरूबारे विस्तृत छलफल हुनेछ ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सभामुख डीपि अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङ्देम्बे र उपसभामुख रुबीकुमारी ठाकुर सदस्य रहनुभएको छ । लामो समयपछि परिषद्ले पूर्णता पाएसँगै आज बस्न लागेको यो बैठकलाई निकै चासोका साथ हेरिएको छ।



