नेपाल प्रहरीको केनाइन कार्यालयले हरेक वर्षको कुकुर तिहारका दिन उत्कृष्ट काम गर्ने कुकुरलाई अवार्ड प्रदान गर्दै आएको छ । यस वर्षको उत्कृष्ट कुकुर टाइगर बन्ने पक्का भएको छ । टाइगरकै अनुसन्धानले नेत्रकुमारी र रत्नकुमारीले न्याय पाएको भन्दै टाइगरलाई उत्कृष्ट केनाइन घोषणा गरिँदै छ ।
कुकुर तिहारको दिन टाइरलाई उत्कृष्ट केनाइन घोषणा गर्दै सम्मान गर्ने कार्यक्रम केनाइन कार्यालयको छ । २०७९ जेठमा काठमाडौंमै जन्मिएको टाइगर अहिले जम्माजम्मी दुई वर्षको भएको छ ।
६ महिना उमेरदेखि नै टाइगरले अपराध अनुसन्धानमा काम गर्दै आएको केनाइन कार्यालयका एसपी रामचन्द्र सत्याल बताउँछन् । टाइगरसँगै तीन वटा कुकुर प्रहरीले किनेर ल्याएको थियो । टाइगरसँगै ल्याएका २ वटा कुकुर भने बाँचेनन् । भाले जातको जर्मन शेफर्ड टाइगर आक्राकम विशेषता भएको केनाइन हो ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ खनियाबासकी ७२ वर्षीया रत्नकुमारी थापा १८ साउनमा आफ्नै घरमा मृत भेटिइन् ।
हात बाँधिएको अवस्थामा रत्नकुमारीको शव छिमेकी टोकमाया खत्रीले देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि स्थानीय प्रहरी चौकीको टोली र इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोली घटनास्थल पुगेको थियो ।
हात बाँधिएको अवस्थामा मृत भेटिएपछि रत्नकुमारीको हत्या आशंका गर्दै सिन्धुपाल्चोक प्रहरीले कुकुरसहितको विशेषज्ञ टोली मगायो । नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा घटनाबारे जानकारी आएपछि खोज तथा उद्दारमा प्रयोग हुने जर्मन सेफर्ड जातको ‘टाइगर’ कुकुर परिचालन भयो ।
डग ह्याण्डलर (प्रहरी वरिष्ठ हवल्दार) भीमप्रसाद गौतम टाइगरलाई लिएर राति नै सिन्धुपाल्चोक गए । ‘राति मान्छेको भिडभाड पनि नहुने हुँदा काममा पनि सहज भएकाले सकेसम्म राति नै पुगेर काम गर्न सकियोस् । भनेर हामी राति नै टाइगरलाई सिन्धुपाल्चोक गएका थियौं’, डग ह्याण्डलर गौतमले भने ।
बिहानीपख करिब ९ बजेतिर घटनास्थल पुगेर टाइगरले काम सुरु गरेको थियो । जस्तापाताले छाएको कच्ची घरमा एक्लै बस्दै आएकी रत्नकुमारी । घर वरपर कोदोबारी थियो । कोदोबारीमा पोतेका गेडाहरु छरिएका थिए । कोदो मडारिएको थियो । घरभित्र भुइँमा दुबै हात बाँधिएको अवस्थामा रत्नकुमारीको शव थियो ।
प्रहरीले सुरुमा रत्नकुमारीको शव भएको ठाउँमा केही प्रमाण छ कि भन्दै क्राइम सिन हेर्यो । तर अभियुक्तको कुनै सबुद प्रमाण भेटिएन । स्थानीय प्रहरीले घरलाई नै कर्डन गरेर राखेकाले कोदोबारीको मडारिएको ठाउँ पनि सुरक्षित थियो ।केही दिनअघि पानी परेकाले हल्का चिसो थियो । कोदोबारीकै माटोमा एउटा जुत्ताको पाइला भेटियो । ‘फुटप्रिन्ट भेटिएपछि त्यसैलाई आधार मानेर मैले टाइगरलाई सुघाएर छाडे । अनि अनुसन्धानले गति लियो ।
लास भएको ठाउँमा पुग्यो, बाहिर निस्कियो । बाँया साइडतर्फबाट अगाडि बढेर रोडमा निस्कियो र रोडैरोड अगाडि बढ्यो । लगभग १ किलोमिटर सडकमा दौडिएपछि फेरि पछाडि ब्याक भयो । त्यहाँबाट मुख्य रोड छाडेर सानो गोरेटोबाटोतर्फ अघि बढ्यो ।
अगाडि बढ्दै जाँदा टाइगर एउटा झरना भएको ठाउँमा पुग्यो । झरना पनि क्रस गरेर पारीतर्फ गयो । फेरि ओरालो झरेर केही पर दौडियो । त्यहाँबाट एउटा खोला नजिक पुग्यो । त्यसपछि टाइगर रोकियो । त्यहाँबाट अघि बढ्न सकेन ।
टाइगरले दिएको यही क्लुलाई आधार मानेर जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरञ्जन भट्टराईको टोलीले थप अनुसन्धान अघि बढायो । टाइगरले ट्रयाक गरेको बाटो को–को हिँड्छन् । घटना भएको समय वरपर को–को त्यो बाटो हिँडे भन्ने विषयलाई केन्द्रमा राखेर अनुसन्धान गर्दा पत्ता लाग्यो रत्नकुमारीका हत्यारा ।
घटनाको तीन दिनपछि २१ साउनमा प्रहरीले काठमाडौंको गोंगबुबाट रत्नकुमारीको हत्या आरोपमा सोही ठाउँका ३६ वर्षीय सञ्जिव देउजा पक्राउ परे ।
टाइगरकै क्लुलाई आधार मानेर अनुसन्धान गर्दा पक्राउ परेका देउजाले घटना स्वीकार्दै बृद्धभत्ताका लागि हत्या गरेको बताएका थिए । लुट्नका लागि भनेर दुई दिनसम्म रेकी गरेको र तेस्रो दिनमा हत्या गरेको खुलेको थियो । केही दिनअघि मात्रै रत्नकुमारीले १२ हजार रुपैयाँ वृद्धभत्ता लिएकी थिइन् । रत्नकुमारीको घरमा आउजाउ गरिरहने सोही ठाउँका देउजा यसबारे जानकार थिए ।
छोरा पनि वैदेशिक रोजगारीमा विदेशमा र बुहारी र नाति नातिनाहरु काठमाडौं बस्दै आएका थिए । सोही मौकामा देउजाले लुटपाटको योजना बनाएर लुटपाट गर्ने क्रममा हत्या गरेको खुलेको थियो ।
हात बाँधेर घाँटी थिची हत्या गर्दै वृद्धभत्ताको १२ हजार र केही दिनअघि मात्रै छोरीले दिएको ५० हजार गरी ६२ हजार र डेढ तोला सुन देउजाले लुटेका थिए । पक्राउ परेका देउजा अहिले पुर्पक्षका लागि कारागार चलान भएको सिन्धुपाल्चोकका इन्सपेक्टर वीरेन्द्रप्रसाद यादवले बताए ।
त्यसैगरी,खुर्पाको बिँडबाट पत्ता लागे हत्या आरोपी,
१७ पुस २०८० को बिहान करिब साढे ७ बजेतिर नुवोकाटको शिवपुरी गाउँपालिका–९ बखतीटो बस्ने ७५ वर्षीया नेत्रकुमारी आफ्नै घर पछाडिको बाख्राको खोरमा मृत फेला परिन् । उत्तानो अवस्थामा मृत फेला परेकी नेत्रकुमारीको अनुहार ददारिएको थियो ।
नेत्रकुमारीको हत्या आशंका भएपछि प्रहरीको केनाइन कार्यालयबाट टाइगर र बेल्जियन शेफर्ड जातको रोज नामका केनाइन परिचालन भए ।
नेत्रकुमारी सुत्ने ठाउँमा टिनको बाकस पनि फुटाइएको थियो । बाकस फुटाउन प्रयोग भएको खुर्पाको बिँड टाइगरलाई ह्याण्डलर गौतमले सुघाए ।
बिँड सुघेपछि टाइगर नेत्रकुमारीको शव रहेको बाख्राको खोरमा पुग्यो । अनि घर अगाडि आई पश्चिमतर्फको गोरेटो बाटो हुँदै अन्दाजी १ किलो मिटरअघि बढी सवारी गुड्ने कच्ची सडकमा पुगेर अलमलियो ।
त्यसपछि पुनः कास्टिङ सेट दिई ट्रयाक छोड्दा अन्दाजी ५ सय मिटर अघिसम्म टाइगरले ट्रयाक लियो । घटनास्थलबाट दक्षिणतर्फको गोरेटो बाटो र मुल सडक जोडिने स्थानमा आइपुग्यो । त्यतिन्जेलसम्म टाइगर थाकिसकेको थियो ।
त्यसपछि रोजका ह्याण्डलरले रोजलाई खुर्पाको बिँड सुघाई छाडे । रोज त्यहाँबाट ६ मिटरतर्फ पूर्व गई चौबाटोमा पुगेर अलमलियो । पुन कास्टिङ सेन्ट दिई ट्रयाक छोड्दा त्यहाँबाट दक्षिणतर्फको कच्ची सडकको बाटो हुँदै अन्दाजी २ सय मिटर गई मूलबाटो छोडेर जंगलतर्फको बाटो हुँदै अघि बढ्यो । करिब २ सय मिटर अघि बढेपछि जस्तापाताले बनाएको भत्किएको घरसम्म पुगेको थियो ।
टाइगर र रोजले गरेको संकेत अनुसार थप अनुसन्धान गर्दा सोही घरमा बस्ने २२ वर्षीय सुकु तामाङ पक्राउ परे । त्यतिबेला नुवाकोटका एसपी सञ्जयसिंह थापा थिए । तामाङलाई पक्राउ गरेपछिको पत्रकार सम्मलेनमा उनले टाइगर र रोजको सहायताले हत्यारा पत्ता लागेको बताएका थिए ।
पक्राउ परेका तामाङ लागु औषध गाँजा सेवन गर्ने व्यक्ति रहेको खुल्यो । गाँजा खरिदका लागि पसा अभाव भएपछि नगद तथा गरगहना चोर्ने क्रममा थाहा पाएपछि नेत्रकुमारीको हत्या भएको स्वीकारेका थिए ।
वृद्धाको हत्यापश्चात् लुटिएको ८३ हजार रुपैयाँ, सुनको एकजोडी बेरुवा र एकथान तिलहरी तामाङले नै दिएको सूचनाका आधारमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ च्यासिङटोलको जंगलबाट प्रहरीले बरामद गरेको थियो । तामाङ अहिले पुर्पक्षका लागि थुनामा छन् ।

यस बर्ष सोही रत्नकुमारी र नेत्र कुमारीलाई न्याय दिलाऊन सफल भएको कुकुर टाइगरले यो अवार्ड पाऊनेछ ।




