कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले नेपालका ७ वटा विश्वविद्यालयहरूमा नयाँ उपकुलपति नियुक्त गर्नुभएको छ। यसै क्रममा त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति पदमा प्रा. डा. भोला थापा नियुक्त हुनुभएको छ। प्रा. थापा यसअघि काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति हुनुहुन्थ्यो।
सहकुलपतिसमेत रहनुभएका शिक्षा मन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार अन्य ६ वटा विश्वविद्यालयहरूमा पनि उपकुलपतिहरूको नियुक्ति गरिएको छ। जसअनुसार पूर्वाञ्चल विश्वविद्यालयमा प्रा. सुजनबाबु मरहट्टा, पोखरा विश्वविद्यालयमा प्रा. देवेन्द्र अधिकारी, मध्यपश्चिम विश्वविद्यालयमा प्रा. राजन सुवाल, र सुदूरपश्चिम विश्वविद्यालयमा प्रा. किसनदत्त भट्ट नियुक्त हुनुभएको छ।
यसैगरी, राजर्षी जनक विश्वविद्यालयको उपकुलपतिमा प्रा. श्यामनारायण लाभ र कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा प्रा. ऋषिराम कट्टेल नियुक्त हुनुभएको छ। नवनियुक्त उपकुलपतिहरू सबैलाई आजै नियुक्ति पत्र बुझाउने तयारी भइरहेको सचिवालयले जनाएको छ।



