परीक्षा सुरु भएको ५ मिनेटमै प्रश्नपत्र बाहिरियो

त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह (एमबिएस) प्रथम सत्रको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटभित्रै प्रश्नपत्र सामाजिक सञ्जालमा बाहिरिएको छ। साउन ८ गते मध्याह्न १२ बजेदेखि सुरु भएको परीक्षाको प्रश्नपत्र १२:०५ बजेतिर नै ‘MBS First Sem Section C’ नामको ह्वाट्सएप ग्रुपमा सेयर भएको फेला परेको थियो।

फेसबुक पेज ‘टियु स्टुडेन्ट्स’ले उक्त ह्वाट्सएप ग्रुपका स्क्रिनसटहरू सार्वजनिक गर्दै त्रिविको परीक्षा प्रणालीको गोपनीयता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। सार्वजनिक स्क्रिनसटअनुसार १,०२३ जना सदस्य रहेको उक्त ग्रुपमा ‘सुलभ सर’ भनिएका व्यक्तिले प्रश्नपत्र पठाएपछि परीक्षार्थीहरूले उत्तर (सोलुसन) समेत मागेका थिए। साथै अर्का सदस्यले आगामी इकोनोमिक्सको परीक्षामा ढिला आउने भन्दै यसै गरी प्रश्नपत्र हालिदिन अनुरोध गरेको संवादसमेत बाहिरिएको छ।

घटना सार्वजनिक भएलगत्तै व्यवस्थापन संकाय डीनको कार्यालयका सहायक डीन डा. भरत राईले संलग्न व्यक्ति, संस्था तथा परीक्षा केन्द्रको पहिचान गरी कडा कानूनी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेका छन्। यसका साथै, केन्द्रीय परीक्षा सञ्चालक समितिले प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ। उपनिर्देशक सह-प्रा.डा. पुष्कर रैखला र सह-प्रा.डा. महेशराज ओझा सदस्य रहेको उक्त समितिलाई ७ कार्यदिनभित्र सत्यतथ्य निरूपण गरी प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ