नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गर्ने निर्णय गरेको छ। निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्याससहित सबै प्रकारका इन्धनको मूल्य घटाएको हो। स्वचालित मूल्य प्रणाली र इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम यो समायोजन गरिएको निगमले जनाएको छ।
नयाँ मूल्यसूची अनुसार निगमले पेट्रोलमा प्रतिलिटर रु २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ। यससँगै तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु १९७ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु १९५ कायम भएको छ। यसअघि यी क्षेत्रमा पेट्रोल प्रतिलिटर रु २१७ र डिजेल प्रतिलिटर रु २२५ रहेको थियो।
पहिलो वर्गअन्तर्गत पर्ने नेपालका तराई क्षेत्रहरू (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज) मा पेट्रोल प्रतिलिटर रु १९४.५० र डिजेल प्रतिलिटर रु १९२.५० कायम गरिएको छ। त्यस्तै, दोस्रो वर्गअन्तर्गत पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु १९६ र डिजेलको मूल्य रु १९४ तोकिएको छ।
निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु ४० ले घटाएर नयाँ मूल्य प्रतिलिटर रु २२९ कायम गरेको छ। अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँका लागि अमेरिकी डलर १,५६६ प्रतिकिलोलिटर बनाइएको छ। यसैगरी, आम उपभोक्तालाई राहत दिँदै खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु १०० कटौती गरिएको छ, जसका कारण अब उपभोक्ताले प्रतिसिलिन्डर (१४.२ किलोग्राम) ग्यास रु दुई हजार ०६० मा पाउनेछन्।



