निजामती महिला कर्मचारीलाई महिनावारी बिदा दिने तयारी

सरकारले निजामती सेवामा कार्यरत महिला कर्मचारीहरूलाई महिनावारी/रजस्वला बिदा दिने तयारी गरेको छ। यसका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराउनुभएको ‘सङ्घीय निजामती सेवा विधेयक’ मा यो बिदाको व्यवस्था गर्न प्रस्ताव गरिएको छ। हाल प्रचलनमा रहेको निजामती सेवा ऐनमा भने यस्तो बिदाको कुनै व्यवस्था छैन।

प्रस्तावित नयाँ बिदाबाहेक, निजामती कर्मचारीहरूले हाल वर्षमा भैपरी आउने ६ दिन र पर्व बिदा ६ दिन गरी कुल १२ दिन बिदा पाउँदै आएका छन्। यसका साथै उनीहरूले वर्षमा एक महिना घर बिदा र १२ दिन बिरामी बिदा पनि पाउँछन्।

महिला कर्मचारीहरूलाई हाल ९८ दिनको मातृत्व तथा प्रसूति बिदा दिइन्छ, जसलाई आवश्यक परेमा थप ६ महिनासम्म बेतलबी प्रसूति बिदाका रूपमा लम्ब्याउन सकिने व्यवस्था छ। पुरुष कर्मचारीका लागि भने १५ दिनको प्रसूति स्याहार बिदा र मृत्यु संस्कार (किरिया) को लागि १५ दिनको बिदा उपलब्ध छ।

कर्मचारीहरूले अध्ययन अवधिभरका लागि लागू हुने अध्ययन बिदा पाउनेछन्। यसका अलावा सेवा अवधिभर बढीमा तीन वर्षसम्म असाधारण (बेतलबी) बिदा लिन पाइने व्यवस्था छ। साथै, पति वा पत्नी विदेशस्थित नेपाली दूतावास वा नियोगमा खटिएर जाँदा कर्मचारीले बढीमा पाँच वर्षसम्म बेतलबी बिदा लिन सक्ने प्रावधान रहेको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ