नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार सञ्चालन तथा गठनमा सहकार्य गर्ने औपचारिक सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलपछि दुवै नेताले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। सहमति अनुसार सात प्रदेशमध्ये पाँच प्रदेशमा नेतृत्वको स्पष्ट बाँडफाँट गरिएको छ। जस अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ। त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व भने नेकपाले गर्ने सहमति भएको छ।
मधेस र गण्डकी प्रदेशको हकमा भने तत्काल नेतृत्व तय गरिएको छैन। ती दुई प्रदेशमा सरकार गठन र सहकार्यका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत आवश्यक परामर्श र छलफल गरेर अघि बढ्ने निर्णय दुई दलबीच भएको छ। प्रदेश सभाहरूमा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेटविहीनताको स्थिति र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाजस्ता समस्या समाधान गर्न यो सहमति गरिएको बताइएको छ। प्रदेशमा राजनीतिक स्थिरता, सुशासन, समृद्धि र द्रुत विकासलाई प्राथमिकता दिँदै संयुक्त सरकार गठन गर्न दुवै दल सहमत भएका हुन्।



