नेकपा एमालेले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा गर्न सरकार पूर्णतः असफल भएको भन्दै प्रधानमन्त्री बालेन शाहको राजीनामा मागेको छ। प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सुनसरीमा हालै भएको दुःखद् घटनालाई लिएर प्रधानमन्त्री बालेन शाह र गृहमन्त्रीको राजीनामा मागेकी हुन्।
अर्यालले विगतका घटनाहरूमा तत्कालीन सरकारलाई दोषी देखाउँदै राजीनामा माग्नेहरू नै अहिले सत्तामा रहेको स्मरण गराइन्। उनले फौजदारी अभियोगको कुरा गर्नेहरूले आजको घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग गर्दै, “काठमाडौँमा गोली चल्दा र मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले जवाफदेहिता लिनुपर्छ भन्नेहरू आज सुनसरीमा नागरिकको ज्यान जाँदाकिन मौन हुनुहुन्छ” भनी कडा प्रश्न समेत गरेकी छन्।
उनले राज्यले संयम अपनाउनुको सट्टा त्रास सिर्जना गरेर स्थितिलाई थप उत्तेजित बनाउने काम गरेको आरोप लगाइन्। उक्त घटनामा ज्यान गुमाउने ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्। साथै, दुई महिनादेखि प्रश्न उठाइरहे पनि प्रधानमन्त्रीबाट चित्तबुझ्दो जवाफ नआएको भन्दै संसद्मा बोलिएका आपत्तिजनक बोलीहरू सच्याइनुपर्ने माग राखिन्।



