मध्यपूर्वमा पुनः तनाव बढ्दै जाँदा अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठिकानाहरूमा व्यापक र कडा आक्रमण गरेको छ। यो कारबाही मङ्गलबार इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरू र होर्मुज जलडमरूमध्यमा तैरिरहेका जहाजहरूमाथि प्रक्षेपास्त्र प्रहार गर्ने प्रयास गरेपछि त्यसको बदला स्वरूप गरिएको अमेरिकी केन्द्रीय कमान्डले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आक्रमणपछि कडा जवाफ दिने चेतावनी दिएका थिए।
अमेरिकी सेनाका अनुसार यो कारबाही एक घण्टाभन्दा बढी चलेको थियो र यसक्रममा इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ का दर्जनौँ अखडालाई निशाना बनाइएको थियो। आक्रमणमा इरानका सैन्य कमान्ड सेन्टरहरू, क्षेप्यास्त्र तथा ड्रोन निर्माण र भण्डारण केन्द्रहरू, तटीय निगरानी प्रणाली र नौसैनिक क्षमताहरूलाई प्रत्यक्ष रूपमा ध्वस्त पारिएको अमेरिकी पक्षको दाबी छ। मुख्य गरी इरानको दक्षिणी र पश्चिमी तटीय भेगहरूमा यी प्रहारहरू केन्द्रित थिए।
इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार दक्षिणी द्वीप ‘केश्म’ मा भएको अमेरिकी हवाई हमलामा एकै परिवारका आमा, बुबा र दुई वर्षको बच्चा गरी तीन जना नागरिकको ज्यान गएको छ। साथै, इरानका विभिन्न सहरहरूमा भौतिक क्षति पुग्नुका साथै विद्युत् आपूर्तिमा अवरोध आएको बताइएको छ। यसअघि अमेरिका र साउदी अरेबियाले संयुक्त रूपमा इराकमा रहेका इरान समर्थित लडाकु समूहहरूमाथि पनि आक्रमण गरेका थिए, जसले गर्दा यो युद्ध झन् फराकिलो बन्दै गएको छ।
केही दिनको शान्ति र पर्दापछाडिका वार्ताहरूपछि सुरु भएको यो नयाँ भिडन्तले मध्यपूर्वमा फेरि पूर्णकालीन युद्धको जोखिम बढाएको छ। ह्वाइट हाउस र क्षेत्रीय मध्यस्थकर्ताहरूले युद्ध रोक्ने प्रयास गरिरहेको बताए तापनि दुवै देशबीच भइरहेको यो शृङ्खलाबद्ध आक्रमणले कूटनीतिक समाधानको सम्भावनालाई थप जटिल बनाएको छ।



