जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालत उपस्थित गराएको छ। उनलाई बुधबार राति निवासबाटै नियन्त्रणमा लिइएको थियो। अदालत लैजानुअघि उनलाई अनुसन्धानका सिलसिलामा जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो।
पत्रकार श्रेष्ठमाथि वैयक्तिक गोपनीयताको हनन तथा व्यक्तिगत चरित्र हत्या हुने गरी समाचार प्रकाशन गरेको आरोपमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको हो।
पत्रकार श्रेष्ठलाई हतकडी लगाएर अदालत लैजाने र धरपकड गर्ने कार्यप्रति नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस सेन्टर र समाजवादी प्रेस संगठन लगायतका विभिन्न पत्रकार सम्बद्ध संघ-संगठनहरूले गम्भीर आपत्ति जनाएका छन्। समाचार लेखेकै आधारमा वा आलोचनात्मक समाचारका कारण उनीमाथि प्रतिशोधपूर्ण व्यवहार गरिएको भन्दै संगठनहरूले यसलाई प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार भनेका छन्।
विभिन्न सञ्चार संगठनहरूले पत्रकार श्रेष्ठमाथि लगाइएका आरोपको निष्पक्ष र उच्चस्तरीय छानबिन हुनुपर्ने तथा उनलाई दिइने मानसिक यातना एवं अनावश्यक हस्तक्षेप तत्काल बन्द गरी अविलम्ब रिहाइ गरिनुपर्ने माग राख्दै विरोध प्रदर्शन तथा धर्ना कार्यक्रमसमेत सुरु गरेका छन्।



