काठमाडौँ (न्युज खबर) । विश्व स्वास्थ्य संगठन (WHO) ले प्रजातान्त्रिक गणतन्त्र कंगो (DR Congo) को पूर्वी क्षेत्रमा तीव्र रूपमा फैलिरहेको घातक इबोला भाइरसको प्रकोपलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’ (PHEIC) घोषणा गरेको छ। कंगोको पूर्वी प्रान्त इटुरी (Ituri) र आसपासका क्षेत्रमा फैलिएको यो प्रकोपले क्षेत्रीय तथा वैश्विक स्वास्थ्य सुरक्षामा गम्भीर चुनौती थपेको निष्कर्ष निकाल्दै डब्लूएचओले यस्तो कदम चालेको हो। यो घोषणासँगै विश्वभरका स्वास्थ्य निकायहरूलाई उच्च सतर्कता अपनाउन र सीमावर्ती क्षेत्रमा कडा निगरानी राख्न विशेष निर्देशिका जारी गरिएको छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार कंगोको पूर्वी इटुरी प्रान्तमा हालसम्म करिब २४६ जनासम्भावित र प्रमाणित बिरामीहरू फेला परिसकेका छन्। यो प्रकोपका कारण हालसम्म ८० जनाभन्दा बढीको मृत्यु भइसकेको पुष्टि भएको छ। डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले चेतावनी दिँदै भनेका छन्, “अहिले देखिएको तथ्याङ्कभन्दा वास्तविक संक्रमितको संख्या निकै बढी हुनसक्छ। कमजोर निगरानी र दुर्गम क्षेत्रका कारण धेरै केसहरू अझै पहिचान हुन बाँकी छन्, जसले गर्दा यो प्रकोप अझ भयानक रूपमा फैलने उच्च जोखिम रहेको छ।”
यो प्रकोप विशेष गरी इटुरी प्रान्तको राजधानी बानिया (Bunia), बहुमूल्य सुन खानी रहेका क्षेत्रहरू मोन्ग्वालु (Mongwalu) र र्वाम्पारा (Rwampara) जस्ता घना बस्ती र धेरै आवतजावत हुने सहरी क्षेत्रमा केन्द्रित देखिएको छ।
यस पटक फैलिएको इबोला भाइरस विगतका प्रकोपहरू भन्दा बढी चिन्ताजनक हुनुको मुख्य कारण यसको प्रजाति हो। डब्लूएचओका अनुसार यो प्रकोप ‘बुन्दिबुग्यो’ (Bundibugyo virus) नामक प्रजातिका कारण फैलिएको हो। विगतमा इबोलाको ‘जायरे’ (Zaire) प्रजातिका विरुद्ध प्रभावकारी खोप र औषधिहरू विकास गरिएका थिए, जसले गर्दा अघिल्ला प्रकोपहरूलाई छिट्टै नियन्त्रणमा लिन सहज भएको थियो। तर, यो ‘बुन्दिबुग्यो’ प्रजातिका लागि हालसम्म कुनै पनि प्रमाणित वा स्वीकृत खोप र एन्टिभाइरल औषधि उपलब्ध छैन। औषधि र खोपको अभावका कारण स्वास्थ्यकर्मीहरू केवल बिरामीको लक्षणका आधारमा सहयोगी उपचार (Supportive Care) मात्र गर्न बाध्य छन्, जसले गर्दा यसको मृत्युदर झन्डै ३० प्रतिशतभन्दा माथि रहने अनुमान गरिएको छ।
यो भाइरस कंगोको सीमा पार गरेर छिमेकी मुलुकहरूमा समेत फैलिन थालेको छ। छिमेकी देश युगान्डामा दुईवटा केसहरू पुष्टि भइसकेका छन्, जसमा एक ५९ वर्षीय कंगोली नागरिकको मृत्यु भएको छ। उनको शवलाई कानुनी प्रक्रिया पूरा गरी कंगो नै फिर्ता पठाइएको युगान्डाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, कंगोको पूर्वी सहर गोमा (Goma), जुन हाल विद्रोही समूह एम-२३ (M23) को नियन्त्रणमा छ, त्यहाँ पनि प्रयोगशाला परीक्षणबाट एकजनामा इबोला संक्रमण पुष्टि भएको छ। देशकै राजधानी किन्सासा (Kinshasa) मा समेत इटुरी प्रान्तबाट फर्किएका एकजना बिरामीमा इबोला फेला परेको छ। यसरी प्रमुख सहर र छिमेकी देशमा भाइरस पुग्नुलाई जनस्वास्थ्यविद्हरूले निकै घातक संकेत मानेका छन्।
डब्लूएचओले अन्य मुलुकहरूलाई कंगोसँगको अन्तर्राष्ट्रिय सीमा पूर्ण रूपमा बन्द नगर्न वा व्यापार र भ्रमणमा प्रतिबन्ध नलगाउन आग्रह गरेको छ। डब्लूएचओका अनुसार यस्ता कडा प्रतिबन्धहरू वैज्ञानिक तथ्यमा आधारित नभई डरका कारण लगाइने हुनाले यसले प्रभावित क्षेत्रको अर्थतन्त्र र राहत कार्यमा उल्टो असर पुर्याउन सक्छ। बरु सीमा नाकाहरूमा प्रभावकारी हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य स्क्रिनिङलाई तीव्र बनाउनु नै उपयुक्त विकल्प हुनेछ।



