जलवायु परिवर्तन र यसले पारिरहेको गम्भीर प्रभावलाई सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना गरेको छ। जलवायु तथा वातावरणसँग सम्बन्धित कूटनीतिक प्रयासहरूलाई संस्थागत, प्रभावकारी र दीर्घकालीन बनाउने उद्देश्यले यो शाखा गठन गरिएको हो।
मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) का आधारमा यो नयाँ संरचना तय गरिएको छ। यस अनुसार संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत रहेको ‘आर्थिक, सामाजिक विकास तथा वातावरण कूटनीति शाखा’को खाकाभित्र रहेर यो शाखाले कार्यसम्पादन गर्नेछ।
यस शाखाले जलवायु तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलहरूमा सहजीकरण गर्नेछ। साथै, राष्ट्रिय स्तरका सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरूसँग आवश्यक समन्वय गरी नेपालको वातावरणीय एजेन्डालाई अन्तर्राष्ट्रिय मञ्चमा समन्वित रूपमा अघि बढाउने जिम्मेवारी पाउनेछ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलन वा राष्ट्रसंघीय जलवायु सम्मेलन (COP) जस्ता कार्यक्रममा सहभागिता जनाउनेमा मात्र सीमित राख्नु हुँदैन। देशको दीर्घकालीन हितलाई ध्यानमा राख्दै जलवायु कूटनीतिको सामर्थ्य अभिवृद्धि गर्न यसलाई संस्थागत प्राथमिकताका रूपमा निरन्तर अघि बढाउनुपर्ने उहाँले स्पष्ट पार्नुभएको छ।



