बुढीगण्डकीमा अचानक बाढी: आरूघाट र सोतीका पुल बगाए

गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङको बीचमा ठूलो पहिरो जाँदा बुढीगण्डकी नदीमा आकस्मिक रूपमा भीषण बाढी आएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार बाढीको उद्गमस्थल आसपासका क्षेत्रमा ठूलो वर्षा नभए पनि माथिल्लो क्षेत्रमा पहिरो खसेर नदी तथा त्यसको सहायक खोला (उइनगुलुङ खोला) थुनिँदा ड्याम फुटेर लेदोसहितको बाढी अचानक तलतिर बगेको प्रारम्भिक अनुमान गरिएको छ।

अचानक आएको यो बाढीका कारण गोरखा र धादिङका नदी तटीय क्षेत्रहरूमा ठूलो भौतिक क्षति पुगेको छ। बाढीले गोरखा र धादिङ जोड्ने प्रसिद्ध आरूघाटको मोटरवेल पुल तथा सोतीस्थित फलामे पक्की पुल लगायत विभिन्न स्थानका झोलुंगे पुलहरू बगाएको छ। त्यस्तै, आरूघाट क्षेत्रका केही घरहरू र बजार तथा तटीय बस्तीमा बाढी पस्दा स्थानीय बासिन्दाहरू विस्थापित भएका छन्।

आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनाको चार वटा हेलिकप्टर र स्थलगत सुरक्षा टोली परिचालन गरेर प्रभावित क्षेत्रबाट दर्जनौँ नागरिक तथा कामदारहरूको सकुशल उद्धार गरिएको छ। चुमनुब्री क्षेत्रका विभिन्न ठाउँबाट फसेका मानिसहरूलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ भने गोठ तथा तटीय क्षेत्रमा रहेका केही व्यक्तिहरू सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको सुरक्षा निकायले जनाएको छ।

घटनास्थलमा मनास्लु सर्किट भ्रमणमा गएका दर्जनौँ पर्यटकहरू पुल र बाटो बग्दा बीच बाटोमै अलपत्र परेका छन्। यस विपद्ले विभिन्न जलविद्युत् आयोजनाका संरचनाहरूमा समेत क्षति पुर्‍याएको छ। नदीको बहावमा केही कमी आए पनि पूर्णरूपमा जोखिम नट्रेकाले बुढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न प्रशासनले अनुरोध गरेको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ