बहुप्रतीक्षित नेपाली चलचित्र ‘पाँच पाण्डव’ को निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै मुख्य पात्र ‘द्रौपदी’ को भूमिकामा अभिनेत्री तथा कन्टेन्ट क्रिएटर इभा गिरी रहने घोषणा गरेको छ। यससँगै चलचित्रलाई लिएर दर्शकमा थप कौतूहल बढेको छ।
सार्वजनिक पोस्टरमा इभा गिरीको द्रौपदी अवतार निकै आकर्षक र शक्तिशाली देखिएको छ। महाभारत कालकी द्रौपदीको झल्को दिने किसिमको पहिरन र पारम्परिक गहनामा सजिएकी इभाको यो लुक्सले फिल्मप्रति दर्शकको अपेक्षालाई उच्च बनाएको छ।
वसन्त निरौलाको निर्देशनमा तयार भइरहेको यस चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। सामाजिक ड्रामामा आधारित यो फिल्मले महाभारतका चरित्र र बिम्बहरूलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा पर्दामा उतार्ने प्रयास गरेको छ।
यस चलचित्रमा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, सुशील सिटौला लगायतका ख्यातिप्राप्त कलाकारहरूको प्रमुख भूमिका रहेको छ। नवीन श्रेष्ठको प्रस्तुति रहेको यस फिल्मलाई काली रानी श्रेष्ठले निर्माण गरेकी हुन्। फिल्मले पौराणिक कथा र आधुनिक समाजको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।



