पूर्वमन्त्री राजेन्द्र खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा, आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

नेपाली कांग्रेसका पुराना, त्यागी एवं सादगी नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय (मुख्यालय) मा राखिएको छ। आइतबार राति निधन भएका नेता खरेलको योगदानको स्मरण गर्दै पार्टीका शीर्ष नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले सानेपा पुगेर उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

पछिल्लो समय श्वासप्रश्वास (दम) को समस्या बढेपछि काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत ८० वर्षीय खरेलको आइतबार राति पौने १० बजे उपचारकै क्रममा निधन भएको थियो। वि.सं. २००३ सालमा काभ्रेपलाञ्चोकको खरेलथोकमा जन्मिनुभएका उहाँ नेपाली राजनीतिमा एक निष्कलंक, इमानदार र निष्ठावान् नेताका रूपमा स्थापित हुनुहुन्थ्यो।

पार्टी कार्यालय सानेपा पुगेर नेपाली कांग्रेसका नेताहरूले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको छ। श्रद्धाञ्जली सभामा नेताहरूले स्व. खरेलको निधनले नेपाली कांग्रेस र समग्र लोकतान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताएका छन्। उहाँका छोरा महेश खरेल हाल काभ्रेको पाँचखाल नगरपालिकाका नगरप्रमुख एवं कांग्रेस काभ्रे क्षेत्र नं. २ का सभापति हुनुहुन्छ।

राजनीतिक जीवनका क्रममा लोकतन्त्र स्थापनाका लागि झण्डै ९ वर्ष कठोर जेल जीवन बिताउनुभएका खरेल वि.सं. २०५६ को आम निर्वाचनमा काभ्रेपलाञ्चोकबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो। उहाँले आफ्नो राजनीतिक कार्यकालमा शिक्षा राज्यमन्त्री र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी समेत कुशलतापूर्वक सम्हाल्नुभएको थियो।पारिवारिक स्रोतका अनुसार पार्टी मुख्यालयमा श्रद्धाञ्जली अर्पण गरिसकेपछि आजै दिउँसो १ बजे पशुपति आर्यघाटमा धार्मिक विधिअनुसार उहाँको अन्तिम संस्कार गरिने कार्यक्रम तय भएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ