परराष्ट्रमन्त्री खनाल आज तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दै

काठमाडौँ, २२ जेठ– परराष्ट्रमन्त्री शिशिर खनाल आज (शुक्रबार) छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दैछन्। भारतीय विदेशमन्त्री एस. जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनाल दिउँसो २:३० बजेको नियमित उडानबाट दिल्ली प्रस्थान गर्न लागेका हुन्।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले आफ्ना भारतीय समकक्षी एस. जयशङ्करसँग द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यतालिका रहेको छ। सो अवसरमा नेपाल र भारतबीचको आपसी हित, व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा व्यापार तथा जनता–जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसका साथै मन्त्री खनालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ। उक्त उच्चस्तरीय भेटवार्तामा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पूर्व-पश्चिम रेलवे, जनकपुर-अयोध्या रेलमार्ग, तथा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय उडान विस्तारका विषयमा समेत ठोस कुराकानी हुने बताइएको छ।

विशेष स्रोतका अनुसार मन्त्री खनालको यो भ्रमणले प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित आगामी भारत भ्रमणको एजेन्डा र पृष्ठभूमि तय गर्नेछ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किने दिन नै परराष्ट्रमन्त्री खनाल दिल्ली जान लाग्नुलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ। मन्त्री खनाल आगामी जेठ २४ गते आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ