नेपाली सर्ट र फिचर फिल्मले अन्तर्राष्ट्रिय फेस्टिभलमा उपस्थिति

पछिल्लो एक–डेढ दशकयता विश्वचर्चित फिल्म फेस्टिभलमा नेपाली चलचित्रको उपस्थिति नियमितजसो हुन थालेको छ । जुन–जुन चलचित्र छनोट भएर विश्वमञ्चमा प्रदर्शन भएका छन्, तिनले राम्रो प्रशंसा पाउन सफल पनि भएका छन् । कान्स, बर्लिन, टोरन्टो, बुसान, भेनिस, लुकार्नो, रोट्रेड्याम, ढाका, मुम्बई फिल्म फेस्टिभल (मामी), सनडान्सलगायतका फिल्म फेस्टिभलमा नेपाली सर्ट र फिचर फिल्मको उपस्थिति बाक्लै देखिन थालेको छ ।

पछिल्लोपटक मीन भाम निर्देशित फिल्म ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलमा मुख्य प्रतिस्पर्धाका लागि छनोट भएको छ । दक्षिण एसियाबाट एक दशकयता कुनै पनि फिल्म मुख्य प्रतिस्पर्धामा छनोट हुन नसक्दाको रिक्तता यसले मेटेको छ । नेपालका हकमा बर्लिनमा मुख्य प्रतिस्पर्धामा छनोट हुने यही नै पहिलो फिल्म हो । डोल्पाको हिमाली भेगमा छायांकन गरिएको ‘साम्बाला’ले श्रीमान् खोज्न हिँडेकी एक गर्भवती महिलाको कथा बताउँछ । यही वर्ष बर्लिनमै सौरभ घिमिरे निर्देशित सर्ट फिल्म ‘संग्स अफ लभ एन्ड हेट’ पनि प्रदर्शन हुँदै छ ।

हालै मात्र क्यानडाको ‘टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ प्रिमियर भएको थियो । विश्वचर्चित निर्देशक, निर्माता र कलाकार सहभागी फेस्टिभलमा नेपालबाट निर्देशक सुब्बा, अभिनेता दयाहाङ राई, पशुपति राई, निर्माता अमोद राईलगायत सहभागी भएका थिए । विगतमा दयाहाङ अभिनीत ‘हाइवे’ बर्लिन र ‘सेतो सूर्य’ भेनिस फिल्म फेस्टिभलमा प्रदर्शन भएका थिए । दुवै फिल्म दीपक रौनियारले निर्देशन गरेका हुन् ।

यसै वर्ष दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘गाउँ आएको बाटो’ र निरञ्जनराज भेटवालले निर्देशन गरेको छोटो चलचित्र ‘साक्षी रुख’ देखाइयो । ‘साक्षी रुख’ नेदरल्यान्डको रोट्रेड्याम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र फ्रान्सको ‘क्लेर्माेन्ट फेर्रान्ड इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल’मा पनि छानिएको थियो । त्यस्तै, विश्व प्रतिष्ठित मानिने इटालीको ‘भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘द रेड सुटकेस’ यसै वर्ष प्रिमियर भयो । फिल्म निर्देशक फिडेल देवकोटा, निर्माता रामकृष्ण पोखरेल, कलाकार सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठलगायत फेस्टिभलमा सहभागी थिए ।

मुम्बई फिल्म फेस्टिभल (मामी)मा यो वर्ष ‘गाउँ आएको बाटो’ र ‘द रेड सुटकेस’सहित फिचर तथा छोटो विधातर्फ गरेर पाँचवटा चलचित्र छनोट भए । आयारुस पौडेलको ‘हेलेना र विन्ड हर्स’, सौरभ राई निर्देशित ‘गुराँस’ र विदुषी गिरीको ‘चिसो घर’ पनि फेस्टिभलमा प्रदर्शन गरिएका थिए ।

सन् २०२२ मा बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दुई नेपाली सर्ट फिल्म प्रदर्शन भए । दीपक रौनियार निर्देशित ‘फोर नाइट्स’ र सूर्य शाही निर्देशित ‘ह्विल अन द बस’ले राम्रै प्रशंसा पाएको थियो । ‘फोर नाइट्स’ सर्ट फिल्मअन्तर्गतको मुख्य प्रतिस्पर्धामा र ‘जेनेरेसन के प्लस’अन्तर्गतको प्रतिस्पर्धामा ‘ह्विल अन द बस’ प्रदर्शन भएको हो । सन् २०२२ मा नै नेदरल्यान्डको रोट्रेड्याम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निरञ्जनराज भेटवालको सर्ट फिल्म ‘अन्हद’ र सुनील पाण्डेको ‘बाघथान’ प्रदर्शनका लागि छनोट भएका थिए ।

सन् २०२२ मा बंगलादेशको ढाकामा आयोजित ‘ढाका इन्टरनेसनल फिल्म फेस्टिभल’मा दुई नेपाली सिनेमाले अवार्ड नै हात पारेका थिए । फिचर फिल्म ‘ऐना झ्यालको पुतली’का लागि सुजित बिडारीले उत्कृष्ट निर्देशक र सर्ट फिल्म ‘पुतलीको सपना’का लागि किरण पोखरेलले उत्कृष्ट स्क्रिप्ट अवार्ड पाएका थिए ।

कान्सलाई प्रतिष्ठित र संसारकै ठूलोमध्येको फिल्म फेस्टिभलको रूपमा लिइन्छ । सन् २०२२ मा मात्रै अविनाशविक्रम शाहको सर्ट फिल्म ‘लोरी’ले फेस्टिभलमा सर्ट फिल्म विधातर्फ ‘स्पेसल मेन्सन’ अवार्ड जित्यो । कान्समा आधिकारिक रूपमा छानिएको ‘लोरी’ पहिलो फिल्म हो ।

सन् २०१७ मा सनडान्स फिल्म फेस्टिभलमा पूजा गुरुङ र विभूषण बस्नेतको निर्देशनमा बनेको सर्ट फिल्म ‘दद्या’बाट चिन्तनराज भण्डारीले ‘स्पेसल जुरी अवार्ड फर सिनेमाटोग्राफी’ अवार्ड जिते । सनडान्समै अंकित पौडेलको सर्ट फिल्म ‘सङ अफ क्लाउड्स’ प्रदर्शन भएको थियो । सन् २०१९ मा ‘टोरन्टो फिल्म फेस्टिभल’मा राजन कठेत निर्देशित सर्ट फिल्म ‘बेयर ट्रिज इन द मिस्ट’ प्रिमियर भयो । सन् २०१८ मा राजेशप्रसाद खत्री निर्देशित सर्ट फिल्म ‘जालगेडी’ले बर्लिन फेस्टिभलमा उत्कृष्ट सर्ट फिल्मको अवार्ड जित्यो ।

Read All

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ