काठमाडौँ— प्रहरीले घरबाटै नियन्त्रणमा लिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा करिब १० घण्टापछि मुक्त भएका छन्। प्रहरीले उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिवारको जिम्मा लगाई पठाएको छ।
प्रहरी टोलीले आइतबार मध्यरात (बिहान ३ बजे) महाराजगञ्जस्थित निवासबाटै राणालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रण लगत्तै उनलाई टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याइएको थियो।
सुरक्षा खतरा रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिए पनि कुन प्रकारको खतरा थियो भन्ने खुलाएको छैन। १० घण्टासम्म कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखेपछि प्रहरीले उनलाई सुरक्षित स्थानमा पठाएको र सुरक्षा बढाएको जनाएको छ।
यसैबीच, नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश राणाको स्थिति र मानवअधिकारको अवस्था बुझ्न टेकु पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रहरीले परिसरभित्र प्रवेश गर्न नदिई गेटमै रोकेको थियो। आयोगको टोली करिब ४५ मिनेट गेटमा पर्खिएर भेटै नगरी फर्किएको थियो।



