दक्षिण अफ्रिकाका दुई ठूला शहर जोहानेसबर्ग र केप टाउनमा भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्ड (मास सुटिङ) मा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार साँझ र आइतबार बिहान भएका यी हिंस्रक घटनाहरूमा अन्य दर्जनौँ व्यक्ति गम्भीर घाइते भएका छन्।
पहिलो घटना जोहानेसबर्गको पश्चिममा रहेको एक बार (मदिरा पसल) मा शनिबार साँझ घटेको हो, जहाँ आधुनिक स्वचालित हतियारधारी आठ जना बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाएका थिए। आक्रमणकारीहरूले बारबाहिर र भित्र रहेका ग्राहकहरूलाई लक्षित गरी गोली हान्दा १३ पुरुष र ४ महिला गरी १७ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्। आक्रमणपछि बन्दुकधारीहरूले दुईवटा गाडीमा आगो लगाएर फरार भएका थिए।
दोस्रो घटना आइतबार बिहान केप टाउन बाहिरको एक मनोरञ्जनस्थलमा भएको हो, जहाँ बन्दुकधारीको गोली लागेर १० जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन्। दुवै घटनाका दोषीहरू अहिलेसम्म फरार रहेकाले प्रहरीले तीव्र खोजतलास सुरु गरे पनि आक्रमणको मुख्य कारण खुल्न सकेको छैन। दक्षिण अफ्रिकामा पछिल्लो समय गिरोहबीचको अस्वस्थ प्रतिस्पर्धा र आपराधिक गतिविधिले गर्दा बन्दुक हिंसा र हत्याका घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन्।



