कांग्रेसमा नयाँ कोर्सको तयारी: खड्का र कोइरालालाई ‘वरिष्ठ नेता’ दिन सभापति थापा राजी

काठमाडौँ, जेठ १० । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक शक्ति संघर्ष र गुटबन्दी अन्त्यका लागि संस्थापन पक्षले मध्यमार्गी र लचिलो बाटो रोज्ने संकेत गरेको छ। विशेष महाधिवेशन र अदालतको फैसलापछि उत्पन्न परिस्थितिलाई व्यवस्थापन गर्दै पार्टीलाई विभाजनबाट जोगाउन सभापति गगनकुमार थापाले असन्तुष्ट पक्षका मुख्य दुई नेताहरू पूर्णबहादुर खड्का र डा. शेखर कोइरालालाई ‘वरिष्ठ नेता’ को मर्यादा दिन तत्परता देखाएका छन्।

पार्टीलाई एकताबद्ध बनाएर आसन्न १५ औँ महाधिवेशनतर्फ लैजान सभापति थापाले यो रणनीतिक कदम चाल्न लागेका हुन्। यसअघि खड्का र कोइराला दुवै पक्षले सभापति थापाले एकलौटी ढंगले निर्णय गरेको र विशेष महाधिवेशन बाहिर रहेका १९ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनीत गर्दा आफूहरूसँग सरसल्लाह नगरेको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए।

पार्टी स्रोतका अनुसार, सभापति थापा आफैँले नेता डा. शेखर कोइरालाको विशालनगरस्थित सचिवालयमा पुगेर उनलाई वरिष्ठ नेताको जिम्मेवारी सम्हालिदिन औपचारिक प्रस्ताव गरिसकेका छन्। त्यसैगरी, निवर्तमान कार्यवाहक सभापति एवं पूर्वसंस्थापन पक्षका नेता पूर्णबहादुर खड्कालाई पनि सोही पद दिएर पार्टीको मूलधारमा सक्रिय गराउने थापाको योजना छ।

“मैले शेखर दाइलाई नै भेटेर वरिष्ठ नेता बसिदिन प्रस्ताव गरिसकेको छु, र सोही किसिमको प्रस्ताव खड्काजीलाई पनि गरिएको छ,” सभापति थापानिकट स्रोतले भन्यो। थापाको यो प्रस्तावलाई पार्टीभित्रको तीतोपन कम गर्ने र सबै गुटलाई एउटै छातामुनि ल्याउने बलियो अस्त्रका रूपमा हेरिएको छ।

 

खड्का र कोइराला पक्षले व्यक्तिगत तहमा पद लिने भन्दा पनि सामूहिक एकताको वकालत गर्दै आएका छन्। उनीहरूले १४ औँ महाधिवेशनबाट निर्वाचित पुरानो कार्यसमिति र हालै पुसमा सम्पन्न विशेष महाधिवेशनबाट आएको नयाँ केन्द्रीय कार्यसमितिलाई एकापसमा ‘मर्जर’ (एकीकृत) गर्ने वा छुट्टै शक्तिशाली महाधिवेशन आयोजक समिति बनाउनुपर्ने अडान राख्दै आएका थिए।

तर, सभापति थापाले भने दुवै कमिटी मर्जर गर्ने वा विशेष महाधिवेशनको वैधानिकतामा आँच आउने गरी छुट्टै समिति बनाउने कुरामा सहमति गर्न नसकिने स्पष्ट पारेका छन्। थापाको बुझाइमा विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालत दुवैले वैधता दिइसकेकाले यसको संरचना भत्काउनु विधानविपरीत हुनेछ। बरु, पुराना नेताहरूलाई उचित सम्मान र पद दिएर समेट्न सकिने थापाको मध्यमार्गी अडान छ।

अदालतको फैसलापछि उत्पन्न संवादहीनता चिर्न सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले गोल्फुटारस्थित खड्का निवास पुगेर डेढ घण्टा लामो छलफल गरेका थिए। उक्त भेटमा नेता खड्काले “आधा कांग्रेस नेतृत्वको साथमा र आधा बाहिर रहेको जस्तो देखिएकाले पार्टी अहिले गुट-गुटमा विभाजित भएको” भन्दै चिन्ता व्यक्त गरेका थिए। उनले एकताको ठोस रोडम्याप र प्रस्ताव ल्याउने जिम्मेवारी नेतृत्वकै काँधमा रहेको बताएका थिए।

यता, डा. शेखर कोइरालाले पनि पार्टीमा विगतका संकट सम्झाउँदै १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेतृत्वले नै त्याग गर्नुपर्ने सुझाव दिएका थिए। आफूलाई ‘मध्यमार्गी धार’ मा उभ्याएका कोइरालाले पार्टी विभाजनले नेपालको प्रजातान्त्रिक आन्दोलनमै धक्का लाग्ने चेतावनी दिँदै आएका छन्।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ