काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंका प्रस्थान गर्नुभएको छ। श्रीलंकाको कोलम्बोमा आयोजना हुन लागेको ‘एसियाली संवाद’ कार्यक्रममा सहभागी हुन उहाँ आज दिउँसो ६ सदस्यीय टोलीसहित त्यसतर्फ प्रस्थान गर्नुभएको हो।
नेकपा संयोजक प्रचण्डसँगै सो कार्यक्रममा भाग लिन नेताहरू बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गङ्गा दाहाल पनि श्रीलंका प्रस्थान गर्नुभएको छ। उहाँहरू इन्टरनेशनल पिपुल्स एसेम्बली (IPA) को मैत्रीपूर्ण निमन्त्रणामा कोलम्बो जानुभएको हो।
असार ३२ देखि साउन २ गते (जुलाई १६-१८) सम्म सञ्चालन हुने यस तीन दिने सम्मेलनमा एसियाली क्षेत्रका कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूबीच बृहत् छलफल हुनेछ। विशेषगरी जलवायु परिवर्तन, विश्वव्यापी तथा क्षेत्रीय आर्थिक सङ्कट, सैन्यीकरण, वैदेशिक हस्तक्षेप, क्षेत्रीय शान्ति र स्थिरताका साथै समाजवाद निर्माणका लागि एसियाली देशहरूबीचको सहकार्यका विषयमा गहन बहस हुने कार्यतालिका रहेको छ।
भ्रमणका क्रममा प्रचण्डले श्रीलंकाका राष्ट्रपति, प्रधानमन्त्री, जनता विमुक्ति पेरामुनाका महासचिव, कम्युनिस्ट पार्टी अफ श्रीलंकाका महासचिव लगायत एसियाका विभिन्न देशबाट आउने दर्जनभन्दा बढी राजनीतिक नेताहरूसँग शिष्टाचार भेट तथा द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ। यो भेटघाटले क्षेत्रीय राजनीतिक परिस्थिति र प्रगतिशील शक्तिहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।



