एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ। ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरी टोलीले उनलाई काठमाडौंको बुढानीलकण्ठस्थित गणेशचोकबाट शुक्रबार साँझ नियन्त्रणमा लिएको हो।

शेर्पामाथि हात्तीगौंडामा रहेको ‘टुङ्गरम इन्टरनेसनल एकेडेमी प्रालि’ को ८ करोड ७८ लाख ३० हजाररुपैयाँ हिनामिना र अपचलन गरेको गम्भीर आरोप लागेको छ। उक्त एकेडेमीका साझेदारहरूले दिएको जाहेरीका आधारमा अदालतको सीधा आदेशपछि सीआईबीले उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाउँदै पक्राउ गरेको जनाएको छ।

अनुसन्धानका क्रममा शेर्पाले विद्यालयलाई अनुचित हानि पुर्‍याउने नियतले डर, त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको दधिकोटमा रहेको विद्यालयको २९ रोपनी ४ आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा नामसारी गरेको पाइएको छ। यसका साथै विद्यालयको नाममा खरिद गरिएका सवारी साधनहरू व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको र संस्थाको रकम आफ्ना निजी कम्पनीहरूमा स्थानान्तरण गरेको समेत आरोप छ।

सीआईबीका अनुसार यस घटनाको सम्बन्धमा थप प्रमाण सङ्कलन र आर्थिक कारोबारको विस्तृत विश्लेषण भइरहेको छ। अनुसन्धान सकिएपछि प्राप्त प्रमाणका आधारमा उनीमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ