न्यायपरिषद्को बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई तोक्न सरकारसमक्ष सिफारिस गरेको छ। हाल विशेष अदालतको अध्यक्षको जिम्मेवारीमा सुदर्शनदेव भट्ट रहँदै आएका थिए। परिषद्को निर्णय अनुसार यो सिफारिस कार्यान्वयनका लागि सरकारलाई सुझाव पठाइएको हो।
न्यायपरिषद्को सोही बैठकले विभिन्न राजस्व न्यायाधीकरणका लागि पनि कानुन सदस्य एवं अध्यक्षहरू तोक्न सरकारलाई परामर्श दिएको छ। जसअनुसार काठमाडौंको राजस्व न्यायाधीकरणका लागि उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज चन्द, पोखराका लागि उच्च अदालत पोखराकी न्यायाधीश अन्जु उप्रेती ढकाल र विराटनगरका लागि उच्च अदालत विराटनगरका न्यायाधीश दिपेन्द्रबहादुर बमलाई सिफारिस गरिएको छ।
यसैगरी बैठकले श्रम अदालतको अध्यक्ष पदका लागि पनि नयाँ नियुक्ति सिफारिस गरेको छ। परिषद्ले उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई श्रम अदालतको अध्यक्ष पदमा तोक्नका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।
विशेष अदालत र न्यायाधीकरणहरूमा नेतृत्व सिफारिस गर्नुका साथै न्यायपरिषद्को यस बैठकले देशैभरका उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको व्यापक सरुवा गर्ने निर्णय समेत गरेको छ। परिषद्ले एकैपटक उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जना न्यायाधीशहरूको सरुवा गरेको छ।



