काठमाडौं । इजरायल वैदेशिक रोजगारीका लागि सञ्चालन भइरहेको अंग्रेजी भाषा परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालका लागि स्थगित गरिएको छ। परीक्षा व्यवस्थापन फितलो भएको भन्दै परीक्षार्थीहरूले विरोध जनाएपछि सिर्जना भएको तनावपूर्ण परिस्थितिका कारण परीक्षा रोक्नुपरेको हो। परीक्षाको जिम्मा पाएको त्रिपुरेश्वरस्थित इन्टरनेसनल क्वालिफिकेसन्स प्रालि (सीआईआईएन) ले सामाजिक सञ्जालमार्फत परीक्षा स्थगित भएको आधिकारिक जानकारी दिएको छ।
मंगलबार परीक्षा सञ्चालन भइरहेका बेला व्यवस्थापनलाई लिएर परीक्षार्थीहरू आक्रोशित बनेका थिए। शुल्क महँगो लिएर पनि न्यूनतम सुविधा समेत नदिएको भन्दै सुरु भएको विवादले उग्र रूप लिँदा परीक्षा हलभित्रै झडप र तोडफोडको स्थिति सिर्जना भएको थियो। सीआईआईएनका अनुसार केही व्यक्तिहरू जबरजस्ती परीक्षा हलमा प्रवेश गरी कर्मचारी तथा परीक्षार्थीहरूमाथि भौतिक आक्रमण गरेपछि शान्ति सुरक्षा कायम गर्न र अप्रत्याशित परिस्थितिलाई नियन्त्रणमा लिन जुन १० का लागिसमेत तय गरिएका सम्पूर्ण परीक्षाहरू रोक्नुपरेको हो।
परीक्षा दिन पुगेका युवाहरूले प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क बुझाउँदा समेत परीक्षा केन्द्रमा आवश्यक कम्प्युटर, हेडसेट र अन्य प्राविधिक उपकरणहरूको उचित व्यवस्था नगरिएको आरोप लगाएका छन्। अत्यधिक भिडभाड र हल्लाका कारण विशेषगरी ‘स्पिकिङ’ (बोल्ने) परीक्षा नराम्ररी प्रभावित भएको उनीहरूको भनाइ छ। यसका साथै कम्युटरको सर्भर ढिलो चल्दा अनलाइन सिस्टममा विवरणहरू बुझाउन (सबमिट गर्न) नपाएपछि परीक्षार्थीहरूको आक्रोश थप चुलिएको थियो।
परीक्षा व्यवस्थापक संस्थाले अवरोध र स्थगितका कारण परीक्षार्थीहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ। स्थगित गरिएका परीक्षाहरूको नयाँ मिति र समय अवस्था अनुकूल हुनासाथ अर्को सूचनामार्फत यथाशीघ्र सार्वजनिक गरिने संस्थाले जनाएको छ। ओभरटाइम र आकर्षक कमाइ हुने भन्दै इजरायल जान तयारी गरिरहेका सयौँ नेपाली युवाहरू भने परीक्षा रोकिएपछि यतिबेला अन्योलमा परेका छन्।


