सर्वोच्चको आदेशसँगै पूर्वसांसद लक्ष्मी महतो कोइरी कारागारबाट मुक्त

काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई तत्काल कारागारबाट रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीको हकमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्न आदेश जारी गरेको हो।

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई ५ वर्ष कैद सजाय सुनाएपछि उनलाई पक्राउ गरी महोत्तरीको जलेश्वर कारागार चलान गरिएको थियो। जिल्ला अदालतबाट सफाइ पाएका प्रतिवादीको हकमा उच्च अदालतको फैसला विरुद्ध थुनाबाहिरै रहेर सर्वोच्चमा पुनरावेदन गर्न पाउने कानुनी अधिकार सुरक्षित रहेको अवस्थामा उनलाई पक्राउ गरिएको सर्वोच्चको ठहर छ।

सर्वोच्च अदालतले कोइरीलाई पक्राउ गर्दा जारी गरिएको ‘जरुरी पक्राउ पूर्जी’ र कारागार पठाइएको ‘कैदी पूर्जी’ दुवै कानुनसम्मत र त्रुटिरहित नदेखिएको भन्दै उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको छ। अदालतले कोइरीलाई अन्य कुनै मुद्दामा थुनामा राख्न नपर्ने भए तत्काल हत्कडी खोली कारागारमुक्त गर्न आदेश दिएपछि उनी जलेश्वर कारागारबाट रिहा भएका छन्।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ