नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले आजै नीति सार्वजनिक गर्ने गरी अन्तिम तयारी थालेको हो।
यसका लागि अहिले राष्ट्र बैंकमा व्यवस्थापन समितिको बैठक बसिरहेको छ। उक्त बैठक सकिए लगत्तै सञ्चालक समितिको बैठक बस्ने र सञ्चालक समितिबाट स्वीकृत भएपछि आजै मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले जानकारी दिएका छन्।
गभर्नर डा. विश्वनाथ पौडेल भोलिदेखि भुटान भ्रमणमा जाने कार्यक्रम तय भएकाले राष्ट्र बैंकले आजै मौद्रिक नीति ल्याउन लागेको हो।
यस पटकको मौद्रिक नीतिमा संरचनागत परिवर्तन समेत गरिन लागिएको छ, जसअन्तर्गत नियामकीय व्यवस्थाहरूलाई मौद्रिक नीतिमा समावेश नगरिने भएको छ। यस्ता नियामकीय व्यवस्थाहरू नियमित परिपत्र (सर्कुलर) मार्फत ल्याउन सकिने भएकाले यसपालि नीतिमा नराखिएको हो।
सरकारले बजेटमार्फत चालु आर्थिक वर्षका लागि ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ। उक्त लक्ष्यलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले यसपटक लचिलो मौद्रिक नीति ल्याउने तयारी गरेको बुझिएको छ।



