वीरगञ्जका मेयर सिंहसहित सात जनामाथि भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आफ्नी छोरीलाई झुटा कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा उनीहरूविरुद्ध यो मुद्दा चलाइएको हो। भ्रष्टाचारको मुद्दा खेप्ने सिंह नेपालकै पहिलो महानगर प्रमुख (मेयर) बनेका छन्।

भ्रष्टाचार मुद्दा दायर गरिएका अन्य व्यक्तिहरूमा सिन्धुपाल्चोक इन्द्रावतीकी रिता भट्टराई, वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा सचिव भिखारी राय र वडा सदस्य तुफैल अख्तर ठकुराई रहेका छन्। यसैगरी, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेल, नागरिकता विवादबारे छानबिन गर्न गठित समितिका संयोजक एवं तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेलविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।

यसअघि सोही प्रकरणमा अनुसन्धानका लागि वीरगञ्जका मेयर राजेशमान सिंह गत साता पक्राउ परेका थिए। उनी अदालतको आदेशानुसार धरौटी बुझाएर थुनामुक्त भइसकेका छन्। झुटा विवरण र किर्ते कागजात खडा गरी नागरिकता दिलाउन सहयोग गरेको र पदीय जिम्मेवारीको दुरुपयोग गरेको पुष्टि भएपछि अख्तियारले उनीहरू सबैलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा अघि बढाएको हो।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ