रङ्गशालामा सामूहिक योग अभ्याससहित विश्व योग दिवस मनाइयो

काठमाडौँ, ७ असार – ‘स्वस्थ वृद्धावस्थाका लागि योग  भन्ने मूल नाराका साथ आज देशभर १२औँ विश्व योग दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ। यसै अवसरमा राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा एक भव्य सामूहिक योग कार्यक्रमको आयोजना गरियो।

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र खेलकुद मन्त्रालयको समन्वय तथा विश्व योग दिवस मूल समारोह समितिको आयोजनामा भएको उक्त कार्यक्रममा मुलुकका विशिष्ट व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रपति, मन्त्रीहरू, उच्च पदस्थ सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुखहरू, योग गुरु तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा विभिन्न योग आसन, प्राणायाम र ध्यानको अभ्यास गरेका थिए।

 समारोहलाई सम्बोधन गर्दै विशिष्ट अतिथिहरूले योग केवल शारीरिक व्यायाम मात्र नभएर मानसिक शान्ति र स्वस्थ जीवन जिउने विज्ञान भएको धारणा राख्नुभयो। आधुनिक समाजमा बढ्दै गएको व्यस्तता र मानसिक तनावलाई व्यवस्थापन गर्न योगलाई दैनिक जीवनशैलीको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिइयो। विशेष गरी वृद्धावस्थामा शारीरिक तथा मानसिक रूपमा सक्रिय र सबल रहन योगको भूमिका महत्त्वपूर्ण रहने सन्देश प्रवाह गरिएको थियो।

दशरथ रङ्गशालाको मुख्य समारोहसँगै आज मुलुकका विभिन्न शिक्षण संस्था, योग केन्द्र, सरकारी तथा गैरसरकारी संघ-संस्थाहरूको आयोजनामा प्रभातफेरी, सार्वजनिक परिसंवाद, वक्तृत्वकला र दीप प्रज्वलनजस्ता चेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिएका छन्। संयुक्त राष्ट्र सङ्घले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा घोषणा गरेपछि हरेक वर्ष यस दिनलाई विश्वभर विशेष रूपमा मनाउने गरिएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ