अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले युरोपेली देशहरूलाई आफ्नै आपतकालीन डिजेल भण्डारण प्रयोगमा ल्याउन तीव्र दबाब दिएको छ। यदि युरोपले भण्डारणमा रहेको डिजेल बजारमा नल्याएमा अमेरिकाबाट युरोपर्फ हुने डिजेल निर्यात पूर्ण रूपमा बन्द गरिदिने चेतावनी ट्रम्पले दिएका छन्। विशेष गरी जर्मनी र फ्रान्सजस्ता ठूला युरोपेली मुलुकहरूलाई ६ महिनाभित्र झन्डै १२ करोड ब्यारेल डिजेल आपतकालीन भण्डारबाट निकाल्न अमेरिकाले आग्रह गरेको छ।
अमेरिकामा नोभेम्बरमा हुन गइरहेको मध्यावधि चुनाव नजिकिँदै गर्दा इन्धनको मूल्य उच्च बिन्दुमा पुगेको छ। अमेरिकामा डिजेलको मूल्य बढेर प्रति ग्यालन साढे ६ डलर नजिक पुगेपछि ट्रम्प प्रशासन चिन्तित बनेको छ। अमेरिकी किसान, ट्रक चालक र साना व्यवसायीहरूले महँगो इन्धनको मार खेप्न नसक्ने भन्दै ट्रम्पले आफ्ना नागरिकको राहतका लागि अमेरिकाको डिजेल अमेरिकामै राख्नुपर्ने तर्क अघि सारेका हुन्।
मध्यपूर्वमा बढ्दै गएको द्वन्द्व र रसिया-युक्रेन तनावका कारण विश्वभर इन्धनको आपूर्ति प्रणाली प्रभावित भएको छ। यदि अमेरिकाले युरोपतर्फ डिजेल निर्यात रोक्यो भने विश्वभर डिजेलको अभाव अझै चर्किने र अन्तर्राष्ट्रिय बजारमा मूल्य आकाशिने चेतावनी ऊर्जा विशेषज्ञहरूले दिएका छन्। यसैबिच स्थिति समाधानका लागि युरोपेली संघका अधिकारीहरू र बेलायतबिच आपतकालीन छलफल सुरु भएको छ।



