फिफा विश्वकप २०२६ अन्तर्गत बुधबार अमेरिकाको कन्सास सिटीमा भएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरेको छ। अर्जेन्टिनाको यस जितमा कप्तान लियोनल मेसी नायक बनेका छन्। उनले खेलको १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै आफ्नो व्यक्तिगत विश्वकप इतिहासकै पहिलो ह्याट्रिक पूरा गरे। ह्याट्रिक पूरा गरेलगत्तै उनले मैदान छाडेका थिए।
३८ वर्षको उमेरमा छैटौंपटक विश्वकप खेलिरहेका मेसीले यो खेलमार्फत विश्वकप इतिहासकै सबैभन्दा पाको उमेरमा ह्याट्रिक गर्ने खेलाडीको नयाँ कीर्तिमान बनाएका छन्। यसअघि यो कीर्तिमान क्रिस्टियानो रोनाल्डो (३३ वर्ष १३० दिन) को नाममा थियो। यसका साथै मेसीले जर्मनीका दिग्गज खेलाडी मिरोस्लाभ क्लोजको १६ विश्वकप गोलको कीर्तिमानसँग पनि बराबरी गरेका छन्। अब अर्को एक गोल गरेमा उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्नेछन्। यो सानदार जितसँगै अर्जेन्टिनाले समूह ‘जे’ मा महत्वपूर्ण ३ अंक जोडेको छ। अर्जेन्टिनाले अब आफ्नो दोस्रो खेलमा अस्ट्रिया र तेस्रो खेलमा जोर्डनको सामना गर्ने तालिका रहेको छ।



