ब्रिटिश प्रधानमन्त्री एवं लेबर पार्टीका नेता कीर स्टार्मरले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। लण्डनस्थित डाउनिङ स्ट्रिटबाहिर देशवासीका नाममा सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री र पार्टी प्रमुख दुवै पद छाड्ने निर्णय गर्नुभएको हो। ऐतिहासिक रूपमा लेबर पार्टीलाई जिताएर सत्तामा पुगेको दुई वर्ष नपुग्दै आन्तरिक राजनीतिक दबाबका कारण उहाँले यो अप्रत्याशित निर्णय लिनुभएको हो।
प्रधानमन्त्री स्टार्मरले आफ्नो सम्बोधनमा देशको हितलाई सधैं पहिलो प्राथमिकतामा राखेर निर्णयहरू गरेको बताउनुभयो। उहाँले नयाँ नेतृत्व चयन नभएसम्मका लागि कामचलाउ प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्ने स्पष्ट पार्नुभएको छ। नयाँ नेता चयनको प्रक्रिया जुलाई ९ बाट सुरु भई सेप्टेम्बरमा संसद सुचारु हुनुअगावै सम्पन्न हुने कार्यतालिका तय गरिएको छ। राजीनामा घोषणाका क्रममा स्टार्मर भावुक बन्दै कठिन समयमा आफूलाई साथ दिने पत्नी र परिवारलाई धन्यवाद समेत दिनुभयो।
पछिल्लो समय बेलायतमा बढ्दो महँगी, कमजोर आर्थिक वृद्धि र केही राजनीतिक विवादका कारण स्टार्मरको लोकप्रियता तीव्र रूपमा घटेको थियो। गत हप्ता सम्पन्न उपनिर्वाचनमा लेबर पार्टीकै प्रभावशाली नेता एन्डी बर्नहमले ठूलो मत अन्तरले विजय हासिल गरेपछि स्टार्मरमाथि पद छाड्न पार्टीभित्रैबाट तीव्र दबाब बढेको थियो। लेबर पार्टीका झण्डै एक चौथाइ सांसद र कतिपय क्याबिनेट मन्त्रीहरूले समेत उहाँको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै राजीनामाको माग गरेका थिए।
कीर स्टार्मरको बहिर्गमनसँगै बेलायतले विगत एक दशकमा सातौँ प्रधानमन्त्री पाउने निश्चित भएको छ। अब लेबर पार्टीको नयाँ नेता र देशको आगामी प्रधानमन्त्रीका रूपमा म्यानचेस्टरका पूर्वमेयर एन्डी बर्नहमलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ। स्टार्मरले नयाँ आउने प्रधानमन्त्रीलाई आफ्नो पूर्ण समर्थन रहने र सत्ता हस्तान्तरणको प्रक्रियालाई सहज बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।




