बेल्जियममाथि रोमान्चक जित निकाल्दै स्पेन १६ वर्षपछि विश्वकपको अन्तिम चारमा

काठमाडौँ । पूर्व विश्वविजेता स्पेन जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। यस ऐतिहासिक जितसँगै स्पेन १६ वर्षपछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ। यसअघि सन् २०१० मा उपाधि जितेयता स्पेन सेमिफाइनलसम्म पुग्न सकेको थिएन।

खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रामक खेल पस्किएका थिए। खेलको ३०औँ मिनेटमा डानी ओल्मोको प्रहारलाई बेल्जियमका गोलरक्षकले रोके पनि त्यसमै रिबाउन्ड बललाई सदुपयोग गर्दै फेबियन रुइजले गोल गरेर स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, स्पेनको यो अग्रता लामो समय टिक्न सकेन। खेलको ४१औँ मिनेटमा बेल्जियमका चार्ल्स डे केटलेरले उत्कृष्ट हेड गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। जारी प्रतियोगितामा स्पेनले खाएको यो नै पहिलो गोल थियो।

पहिलो हाफ १–१ को बराबरीमा सकिएपछि दोस्रो हाफमा दुवै टोलीले गोलका थुप्रै प्रयास गरे। खेल निर्धारित समयमै बराबरीमा टुङ्गिने अनुमान भइरहँदा ८८औँ मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए। बेल्जियमका वैकल्पिक गोलरक्षक सेने लामेन्सको गल्तीको फाइदा उठाउँदै मेरिनोले बललाई जाली चुमाएका थिए। अब फाइनल प्रवेशका लागि स्पेनले अर्को दाबेदार टोली फ्रान्सको सामना गर्नेछ, जसले मोरक्कोलाई हराएर यसअघि नै सेमिफाइनल यात्रा तय गरिसकेको छ।

 

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ