बडादसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट आफ्नो जन्मथलो फर्किने यात्रुहरूको चाप अत्यधिक रूपमा बढेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका सर्वसाधारण घर फर्किन थालेपछि प्रमुख नाकाहरूमा चहलपहल बाक्लो भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि नवमी (कात्तिक ३) सम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत कुल ५ लाख ७६ हजार ५७८ जनाले उपत्यका छाडिसकेका छन्। बाहिरिने यात्रुहरूमा २ लाख २७ हजार ७५५ जना महिला र ३ लाख ४८ हजार ८२३ जना पुरुष रहेका छन्। दसैँको समयमा लामो तथा छोटो दुरीका सार्वजनिक सवारीसाधनमा यात्रुहरूको चाप उल्लेख्य रूपमा बढेको छ।
उपत्यकाका नागढुंगा, फर्पिङ, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडा लगायतका प्रमुख नाकाहरूबाट यात्रुहरू आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन्। चाडपर्वका बेला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न तथा आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा सक्रिय रूपमा खटिएको छ।



