महाधिवेशनबाट निर्विरोध निर्वाचित पार्टी सभापति रवि लामिछानेले महाधिवेशन समापनकै क्रममा चितवनमा निर्वाचन आयोगका प्रमुख भुवन केसीबाट शपथ लिइसक्नुभएको छ। आज हुने विशेष कार्यक्रममा भने सभापति लामिछाने आफैँले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ गराउनुहुनेछ। शपथ लिनेहरूमा उपसभापतिद्वय स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिन आचार्य, सहमहामन्त्रीहरू असिम शाह, निशा डाँगी, र हरि ढकालसहित केन्द्रीय सदस्यहरू रहनुभएको छ।
शपथ ग्रहण कार्यक्रम समापन भएलगत्तै नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्ने तयारी छ। यस बैठकमा पार्टीका बाँकी ५१ जना केन्द्रीय सदस्य तथा अन्य पदाधिकारीहरूको मनोनयन प्रक्रियाबारे महत्त्वपूर्ण छलफल र निर्णय हुनेछ। विधानअनुसार वरिष्ठ नेतासहित अन्य रिक्त ११ पदाधिकारी पदहरू (जस्तै: उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता र कोषाध्यक्ष) मा चरणबद्ध रूपमा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी मनोनयन प्रस्ताव अगाडि बढाइनेछ।



