फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा आयोजक संयुक्त राज्य अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको छ। बेल्जियमका लागि चार्ल्स डी केटलारेले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेपछि अमेरिकाको विश्वकप यात्रा ४-१ को हारसँगै समाप्त भएको हो।
खेलको सुरुवाती क्षणदेखि नै बेल्जियमले दबाब बनाएको थियो। नवौँ मिनेटमा निकोलस रास्किनको पासलाई सदुपयोग गर्दै डी केटलारेले गोल गरेर टोलीलाई सुरुवाती अग्रता दिलाए। तर, ३१ औँ मिनेटमा अमेरिकाका मलिक टिलम्यानले प्रहार गरेको फ्रि-किक बेल्जियमका हान्स भानकेनलाई लाग्दै आत्मघाती गोलमा परिणत भएपछि खेल १-१ को बराबरीमा पुग्यो।
अमेरिकाले बराबरी गरेको दुई मिनेट पनि बित्न नपाउँदै बेल्जियमले फेरि खेलमा अग्रता लियो। लियान्द्रो ट्रोसार्डको क्रसमा डी केटलारेले हेडमार्फत उत्कृष्ट गोल गर्दै स्कोर २-१ बनाए र पहिलो हाफमा बेल्जियमलाई अगाडि राखे।
दोस्रो हाफमा अमेरिकी गोलकिपर म्याट फ्रिजको गल्ती टोलीका लागि घातक सावित भयो। फ्रिजले बल क्लियर गर्न ढिलाइ गर्दा डी केटलारेले बल खोसे र सोही बलमा हान्स भानकेनले पेनाल्टी बक्स बाहिरबाट प्रहार गर्दै बेल्जियमका लागि तेस्रो गोल गरे। खेलको अन्तिम समय (९३औँ मिनेट) मा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका रोमेलु लुकाकुले कठिन कोणबाट चौथो गोल थप्दै बेल्जियमको ४-१ को जित निश्चित गरे।
यसअघि मेक्सिको र क्यानडा बाहिरिइसकेकाले प्रतियोगितामा अमेरिका मात्र एक मात्र बाँकी रहेको आयोजक राष्ट्र थियो। माउरिसियो पोचेटिनोको प्रशिक्षणमा रहेको अमेरिकी टोली सन् २००२ पछि पहिलो पटक क्वाटरफाइनल पुग्ने लक्ष्यमा रहे पनि घरेलु दर्शकमाझ पराजित हुन पुग्यो। अब बेल्जियमले शुक्रबार लस एन्जलसमा हुने क्वाटरफाइनल खेलमा स्पेनको सामना गर्नेछ



