साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा पुग्न सफल भएको हो । यस जितसँगै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनल चरणमा पुगेको छ ।
खेलको सुरुवातदेखि नै आक्रामक बनेको अर्जेन्टिनाले १०औं मिनेटमा पहिलो अग्रता लिएको थियो । कप्तान लियोनल मेसीले प्रहार गरेको कर्नरलाई एलेक्सिस म्याक एलिस्टरले उत्कृष्ट हेडरमार्फत गोलमा परिणत गरेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिना विरुद्ध दोस्रो हाफमा स्विट्जरल्यान्डले कडा चुनौती दियो । खेलको ६७औं मिनेटमा रिकार्डाे रोड्रिगको पासमा डान एनडोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा ल्याए ।
खेलको ७२औं मिनेटमा स्विट्जरल्यान्डका ब्रेल एम्बोलो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा समेटियो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा अर्जेन्टिनाका जुलियन अल्भारेजले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै टोलीलाई पुन: अग्रता दिलाए । खेलको इन्जुरी समयमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाले ३–१ को जित सुनिश्चित गर्यो । अब फाइनल प्रवेशका लागि तीनपटकको विश्वविजेता अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ ।



