स्पेनमा भिषण डढेलो: कम्तीमा १२ जनाको मृत्यु, २३ जना बेपत्ता

दक्षिण स्पेनको एन्डालुसिया क्षेत्रमा हालै फैलिएको विनाशकारी डढेलो नियन्त्रण बाहिर पुग्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य २३ जना अझै बेपत्ता छन्। अल्मेरिया प्रान्तको लस गालार्डोस  र बेडार क्षेत्रमा लागेको यो डढेलोलाई स्पेनको इतिहासकै सबैभन्दा घातक डढेलोमध्ये एक मानिएको छ।

अधिकारीहरूका अनुसार ज्यान गुमाउनेहरूमा धेरैजसो विदेशी नागरिकहरू तथा अवकाशप्राप्त बेलायती पर्यटकहरू रहेका छन्। डढेलो तिव्र गतिमा बस्तीतर्फ फैलिएपछि मानिसहरू ज्यान जोगाउन गाडीमा भाग्न खोज्दा आगोको चपेटामा परेका थिए। केही मृतकहरू जलेका गाडीहरूभित्रै फेला परेका छन् भने कतिपयले गाडी छाडेर पैदलै भाग्ने क्रममा ज्यान गुमाएका छन्। उद्धार टोलीले एक सुख्खा नदीको किनार  बाट भाग्न खोज्ने समूह आगोको पासोमा परेको जानकारी दिएको छ।

हालसम्म ३,२०० हेक्टरभन्दा बढी वन र कृषियोग्य जमिन पूर्ण रूपमा नष्ट भइसकेको छ। आगो नियन्त्रणका लागि १५० भन्दा बढी फायरफाइटर र स्पेनको सैन्य आपतकालीन इकाइका २२० भन्दा बढी सैनिकहरू अहोरात्र खटिएका छन्। क्षेत्रमा चलेको प्रतिघण्टा ५० किलोमिटर भन्दा बढीको हावाको वेग र अत्यधिक धुवाँका कारण उद्धार तथा आगो निभाउने कार्यमा ठूलो चुनौती थपिएको छ।

युरोपभरि चलिरहेको अत्यधिक गर्मीको लहर र झन्डै ४० डिग्री सेल्सियस पुगेको तापमानका कारण सुख्खा बनेको वनस्पतिले डढेलोलाई थप बल पुर्‍याएको वैज्ञानिकहरूले बताएका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस त्रासदीप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। हाल उक्त क्षेत्रबाट सयौँ बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ र हराइरहेकाहरूको खोजी कार्य जारी छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ