काठमाडौँ : काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव अझै पोष्टमार्टम हुन सकेको छैन। उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। सरकार र पीडित परिवारबीच निरन्तर छलफल भए पनि सहमति जुट्न नसक्दा पोष्टमार्टम प्रक्रिया अघि बढ्न नसकेको हो।
मृतकका आफन्तहरूले यो घटनाको पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने माग राख्दै आएका छन्। काठमाडौँ महानगरपालिकाले गणेश नेपालीको परिवारलाई रोजगारी उपलब्ध गराउने र उनका सन्ततिलाई निःशुल्क शिक्षा दिने घोषणा गरे पनि परिवारजनले मात्र त्यसले चित्त बुझाएका छैनन्। घटनाको मुख्य जिम्मेवारी सरकारले नलिएसम्म शव नबुझ्ने अडानमा परिवार कायमै छन्।
असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरीसँग विवाद भएपछि गणेश नेपालीले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा भोलिपल्ट मृत्यु भएको थियो। गणेशको मृत्युपछि उनका आफन्त तथा विभिन्न अभियन्ताहरूले सरकार विरुद्ध प्रदर्शन समेत गरिरहेका छन्।
घटनाको सत्यतथ्य छानबिनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। घटनामा नगर प्रहरीको भूमिका, गाडीमा ह्विल लक लगाउने प्रक्रिया र त्यसपछि सिर्जित परिस्थितिबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



