संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज स्वदेश फर्किंदै छन्। महासभामा भाग लिन उनी गत मंगलबार अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले असोज ८ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपालको तर्फबाट जलवायु परिवर्तन, वातावरणीय न्याय र हिमाली क्षेत्रको जोखिमबारे गम्भीर सरोकार राखेका थिए। उनले नेपालमा हालै आएको विनाशकारी बाढी-पहिरोलाई विश्वका लागि चेतावनीको रूपमा प्रस्तुत गर्दै हिमाली क्षेत्रमा पग्लिँदै गएका हिमनदी र त्यसले निम्त्याएको संकटप्रति विश्व समुदायको ध्यान आकर्षण गराएका थिए।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले ‘जलवायु परिवर्तनले कुनै सीमा नचिन्ने’ उल्लेख गर्दै चीन, नेपाल र भारत क्षेत्रका लागि साझा जलवायु उत्थानशीलता संयन्त्रको खाँचो रहेको बताएका थिए। उनले जलवायु न्यायलाई केवल आर्थिक सहयोगमा मात्र सीमित नगरी प्रक्रियागत र वितरणात्मक न्यायका रूपमा हेर्नुपर्नेमा जोड दिएका थिए। न्युयोर्कमा रहँदा उनले विभिन्न देशका राष्ट्रप्रमुख, प्रतिनिधि तथा अन्तर्राष्ट्रिय संघ-संस्थाका प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता र छलफलसमेत गरेका थिए। उच्चस्तरीय भेटघाट र महासभाको कार्यक्रम समापन गरी उनी आज काठमाडौं अवतरण गर्ने कार्यक्रम रहेको छ।



