सरकारले भारतबाट केरा आयातमा रोक लगाएपछि चितवनका केरा उत्पादक किसानहरूले प्रत्यक्ष फाइदा पाएका छन्। आयात रोकिएसँगै बजारमा स्वदेशी केराको माग बढेर किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन थालेका छन्।
चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोका अनुसार अहिले किसानले बारीबाटै काँचो केरा प्रतिकोसा रू. ६ सम्म मूल्य पाइरहेका छन्। गत वर्षको यही समयमा केराको मूल्य प्रतिकोसा रू. २ देखि रू. ३ मा सीमित भएर सस्तोमा बेच्नुपर्ने बाध्यता थियो।
गत असोजदेखि आयात रोकिएपछि उत्साहित भएका किसानहरूले यस वर्ष जिल्लामा ७ लाख नयाँबिरुवा थपेका छन्। हाल चितवनमा ३,००० बिघा जमिनमा केराखेती भइरहेको छ, जसबाट वार्षिक करिब ७०,००० मेट्रिक टन केरा उत्पादन हुन्छ।
जिल्लामा मुख्यगरी मालभोग, जिनाइन र बिलियम हाइब्रिड जातका केराहरू लगाइन्छ। यहाँ करिब ७०० किसान व्यावसायिक रूपमा केराखेतीमा संलग्न छन्। अधिकांश किसानले जग्गा भाडामा लिएर खेती गरिरहेका छन् भने मुख्य उत्पादन क्षेत्र कालिका र रत्ननगर नगरपालिका हुन्।
चितवनमा उत्पादित केरा काठमाडौँ, पोखरा, दाङ, वीरगञ्ज र हेटौँडा जस्ता प्रमुख शहरहरूमा बिक्रीका लागि पठाइन्छ। फागुनदेखि वैशाखसम्म उत्पादन अलि कम भए पनि अन्य मौसममा प्रशस्त उत्पादन हुने गर्दछ। केराको बिरुवा लगाएको १० महिनादेखि १ वर्षभित्र उत्पादन लिन सकिन्छ।



