नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त हुनुभएको छ। नवनियुक्त अध्यक्ष डा. पौडेलले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
डा. पौडेल वरिष्ठ नाक, कान तथा घाँटी विशेषज्ञ हुनुहुन्छ। उहाँ हाल नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागको प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत रहनुभएको छ।
यसअघि उहाँले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल र दाङ अस्पतालमा विभिन्न जिम्मेवारी सम्हालेर स्वास्थ्य सेवा प्रदान गरिसक्नुभएको छ। साथै, उहाँले नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिको कार्यकारी सदस्य र समन्वयकर्ताका रूपमा समेत काम गरिसक्नुभएको छ।
उहाँले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमबीबीएस पूरा गरी नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस तर्फ स्वर्ण पदक प्राप्त गर्नुभएको थियो।



